तिलोत्तमा — संकटा क्लबले २३ औं तिलोत्तमा गोल्डकप फुटबलमा सोमबार जर्जियन फुटबल क्लब कालिम्पोङ भारतविरुद्ध ४–० को जित पाएको छ ।
देवीनगरस्थित एन्फा टेक्निकल सेन्टर मैदानमा संकटाको जितमा सबै गोल सृजनराज गौतम एक्लैले गरेका थिए ।
१९ औं संस्करण विजेता संकटाले फाइनल पुग्नका लागि विभागीय टोली एपीएफ क्लबविरुद्ध सेमिफाइनल खेल्नेछ । आयोजक रूपन्देही–११ लाई १–० ले पराजित गर्दै एपीएफ अन्तिम चारमा पुगिसकेको छ ।
सृजनले खेलको ४२ औं मिनेटमै गोल गर्दै संकटालाई अग्रता दिलाए । उनले निर्मल घिसिङले मिलाइदिएको पासमा देब्रे खुट्टाले प्रहार गरेको बल सिधै गोलपोस्टमा पुगेको थियो । पहिलो हाफमा एक गोलमात्रै गरेको संकटाले दोस्रो हाफको अन्तिम समयमा तीन गोल थप्यो । सृजनले ८६ औं मिनेटमा एकल प्रयासमा गोल गर्दै अग्रता दोब्बर बनाए । सुरज थारुको पासमा सृजनले गोलकिपर अगाडि बढेको मौकामा गोल गरे ।
त्यसपछि उनले बाँकी दुई गोल इन्ज्युरी समयमा गरे । जन्मजय धामीको प्रहार क्लियर गर्न जर्जियनका गोलकिपर बक्सबाट निकै बाहिर निस्किए । तर, राम्रो क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिएर सृजनले खाली पोस्टमा गोल गरी ह्याट्रिक पूरा गरे । त्यसको दुई मिनेटपछि मध्यभागबाट जर्जियनका खेलाडीबाट बल खोस्दै उनले एक्लै अघि बढाएको बलमा गोल गरेका थिए । उनी म्यान अफ द म्याच घोषित भए । उनले ११ हजार १११ रुपैयाँ प्राप्त गरे ।
अन्तिम क्वाटरफाइनलमा मछिन्द्र एफसी र एडोर्न गडवाल स्पोर्टिङ क्लबबीच मंगलबार प्रतिस्पर्धा हुनेछ ।
