सुनसरी — बिभागीय टिम त्रिभुवन आर्मी क्लबले नवौं संस्करणको हराइजन राष्ट्रिय बास्केटबल रनिङ कपको उपाधिको जितेको छ । मंगलबार फाइनलमा आर्मीले धरान बास्केटबल टिमलाई ११३–७० स्कोरको फराकिलो अन्तरले हरायो ।
धरानस्थित श्रीमाविको कोर्टमा भएको फाइनलमा दुई पटकको च्याम्पियन आर्मीले पहिलो क्वाटरमा ३८–१३ स्कोरको अग्रता लियो । ५ राष्ट्रिय खेलाडी लिएर उत्रिएको आर्मीले दोस्रो क्वाटरमा २१–२२ स्कोरको प्रतिस्पर्धात्मक खेले पनि तेस्रो क्वाटरमा २७–१४ र चौथो क्वाटरमा २७–२१ स्कोर गर्दै उपाधि जितेको हो । प्लेयर अफ द म्याच धरानका सर्वधन राई भए । उनले ५ हजार पाए । सर्वोत्कृष्ट खेलाडी आर्मीका निश्चल महर्जन चुनिए । उनले २५ हजार रुपैयाँ पुरस्कार पाए । उदीयमान खेलाडी धरानका साहिल तामाङ भए । उनले १० हजार पाए । आर्मीले १ लाख ५१ हजार १ सय ११ र धरानले ७५ हजार रुपैयाँ पुरस्कार पाए ।
आर्मीले यसअघि पाँचौ र सातौं संस्करण जितेको थियो । हराइजन क्लबले आयोजना गरेको प्रतियोगितामा एक बिभागीयसहित ६ टिमले भाग लिएका थिए ।
