धनकुटामा वैशाख १७ देखि डाँडाबजार गोल्डकप

चैत्र १२, २०८१

रमेशचन्द्र अधिकारी

Dandabazar Gold Cup from May 17 in Dhankuta

धनकुटा — धनकुटाको साँगुरीगढीमा चौथो डाँडाबजार गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । डाँडाबजार फुटबल मैदानमा आगामी वैशाख १७ देखि २० सम्म डाँडाबजार गोल्डकप प्रतियोगिता सञ्चालन हुने मंगलबार भेडेटारमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

डाँडाबजार फुटबल क्लबको आयोजना तथा साँगुरीगढी गाउँपालिकाको सहयोग र जंगबहादुर थापा स्मृति कोष ब्रदरहुडको सहआयोजनामा प्रतियोगिता हुने छ । 

‘डाँडाबजारको सानः खेलकुद तथा पर्यटनबाट पहिचान’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गरिने डाँडाबजार फुटबल क्लबका अध्यक्ष राजकुमार लिम्बुले बताए । प्रतियोगितामा विजेताले तीन लाख नगद र ट्रफी प्राप्त गर्ने छन् । यस्तै, उपविजेताले एक लाख ५५ हजार नगदसहित ट्रफी पाउने छ । विधागत पुरस्कार प्रदान गरिने छ । 

पुरस्कार राशिमा अघिल्लो वर्षभन्दा ५० हजार रुपैयाँले वृद्धि गरिएको लिम्बुले जानकारी दिए । प्रतियोगितामा आयोजक डाँडाबजार क्लबसहित धरान, मोरङ, उदयपुरलगायत ८ टिम सहभागी हुने छन् । प्रतियोगिता सञ्चालन गर्न २२ लाख ७३ हजार अनुमानित खर्च लाग्ने जनाइएको छ । 

प्रतियोगिताका लागि साँगुरीगढी गाउँपालिकाले ७ र वडा नं ५ ले ३ लाख रुपैयाँ उपलब्ध गराएको पालिका अध्यक्ष जितेन्द्र राईले जानकारी दिए । गत वर्षका विजेता धरान फुटबल क्लब र उपविजेता तालतलैया क्लब रहेका थिए । प्रतियोगितामा सरोज लिम्बुले २२ हजार रुपैयाँ बराबरको जर्सी सौजन्य गरेका छन् । लिम्बुले उक्त जर्सी पत्रकार सम्मेलनमा हस्तान्तरण गरे । 

Dandabazar Gold Cup from May 17 in Dhankuta

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully