रहेनन् अलीका प्रतिद्वन्द्वी फोरम्यान

चैत्र ११, २०८१

एएफपी

Rahane Ali's rival Foreman

लस एन्जलस — पूर्वहेभिवेट च्याम्पियन जर्ज फोरम्यान रहेनन्, शुक्रबार उनको निधन भयो । उमेर थियो, ७६ वर्ष । सन् १९७४ मा भएको प्रसिद्ध ‘रम्बल इन द जंगल’ मा उनी मोहमद अलीसँग भिडेका थिए र त्यसमा पराजित रहे । त्यसको २० वर्षपछि उनी फेरि च्याम्पियन बने ।

धेरैका लागि उनी ‘बिग जर्ज’ थिए । स्कुल चाँडै छाडे । पछि ओलम्पिक स्वर्ण विजेता उनी दुईपल्ट विश्व च्याम्पियन पनि भए । उनलाई विश्व बक्सिङको ‘लेजेन्ड’ का रूपमा लिइन्छ । आफ्नो व्यावसायिक खेल जीवनमा उनी ८१ भिडन्तमा ओर्ले । त्यसमध्ये ७६ मा जिते । अझ त्यसमा पनि ६८ नकआउट जितका रूपमा रह्यो । 

खेल जीवनबाहेक उनी टीभीका विज्ञापनमा लगातार छाइरहे । फोरम्यानको परिवारले भनेको छ, ‘हामी दुःखसँगै घोषणा गर्छौ, जर्ज एडवार्ड फोरम्यान सिनियर रहेनन् । सन् २०२५ को मार्च २१ मा उनको निधन भयो । उनको निधन शान्तिपूर्ण रह्यो र त्यति बेला परिवारद्वारा घेरिएका थिए ।’

परिवारले थपेको छ, ‘हामीप्रति व्यक्त भएको सहानुभूति र मायाका लागि आभारी छौं । फोरम्यानको अद्वितीय जीवनमा हामी सबैलाई गर्व रहनेछ ।’ उनको निधनको समाचार आउनेबित्तिकै अरू पुराना बक्सिङ खेलाडीले पनि श्रद्धाञ्जली पोखेका छन् । अर्का पूर्वच्याम्पियन माइक टाइसनले एक्समा लेखेका छन्, ‘बक्सिङमा उनको योगदान जति छ, त्यो कहिले पनि बिर्सन सकिने छैन ।’ यस्तै बक्सिङ प्रोमोटर बब अरुमले फोरम्यानलाई यो खेलले देखेका सबैभन्दा महान्मध्ये एक भनेका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले लेखेका छन्, ‘फोरम्यान महान् खेलाडी हुन् ।’ सन् १९४९ को जनवरी १० मा फोरम्यानको जन्म भएको थियो, टेक्सासमा । उनी ह्युस्टनमा हुर्के, बढे । उनलाई जसले हुर्काएका थिए, उनी जँड्याहा थिए र बारम्बार बेपत्ता भइरहन्थे । जति बेला उनले विश्व हेभिवेट च्याम्पियनसिपको उपाधि जिते, त्यति बेला मात्र थाहा पाए, जेडी फोरम्यान उनको वास्तविक पिता थिएनन् । त्यसपछि मात्रै उनी आफ्ना वास्तविक बुबाको सम्पर्कमा आए ।

फोरम्यान १३ वर्षको छँदाछँदै छ फिट दुई इन्च अग्ला थिए र उनको तौल थियो, दुई सय पाउन्ड । उनी १६ वर्ष पुग्दा नपुग्दै अपराधको दुनियाँमा प्रवेश गरिसकेका थिए । पछि बक्सिङमै तल्लीन रहे । उनी भन्थे, ‘म बक्सिङ खेल्थें, किनभने म आफ्ना साथीहरूलाई देखाउन चाहन्थें, म कसैसँग डराउँदिनँ भनेर । त्यसको एक वर्ष र २५ भिडन्तपछि म ओलम्पिक स्वर्ण पदक विजेता भइसकेको थिएँ ।’ उनले सन् १९६८ मा मेक्सिकोमा १९ वर्षको उमेरमै स्वर्ण जितेका थिए ।

एएफपी

Link copied successfully