प्रधानमन्त्री कप : गण्डकीले सुपर ओभरमा मधेशलाई हरायो

चैत्र ११, २०८१

सन्जु पौडेल

Prime Minister's Cup: Gandaki beat Madhesh in Super Over

तिलोत्तमा — गण्डकी प्रदेशले रुपन्देहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेशविरुद्ध रोमाञ्चक जित निकालेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा गण्डकीले मधेश प्रदेशलाई सुपर ओभरमा पराजित गरेको हो ।

निर्धारित ५० ओभरमा दुवै टोलीले बराबरी (२४६/२४६) रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा गण्डकीले दिएको २३ रनको लक्ष्य पछ्याएको मधेशले ९ रन मात्र बनाउन सक्यो । सुदीप अर्यालले ६ तथा अमृत गुरुङले १३ रन बनाएका थिए । जवाफी ब्याटिङमा आएको मधेशका लागि पवन शर्राफले ३ र रुपेश सिंहले ९ रन मात्र बनाउन सक्यो । 

त्यसअघि जितका लागि मधेशले दिएको २४६ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश पनि २४६ रनमै अलआउट भएको थियो । गण्डकीका लागि अर्जुन कुमालले शतक प्रहार गरेका थिए । उनले १४० बलमा १० चौका र एक छक्कासहित १०६ रन जोडे । उनी प्लेयर अफ द म्याच घोषित भए । दिनेश बुढामगर र सुदीप अर्यालले समान ३४/३४ रनको योगदान गरे । कप्तान विपिन खत्रीले २६, सुवास भण्डारीले १३ र कमल परियालले ११ रन बनाउँदा दुई जना खेलाडी शून्य रनमा आउट भए । बलिङमा मधेशका विशाल पटेलले सर्वाधिक चार विकेट लिए । रुपेश सिंह, रञ्जित कुमार, पवन शर्राफ र प्रदीप पासवानको नाममा एक एक विकेट रहृयो । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै २४६ रन बनाएको थियो । उसका लागि ओपनर रोहन विक, हरिशंकर साह र रुपेश सिंहले अर्धशतकीय पारी खेले । रोहनले ९८ बलमा ६ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६४ रनको योगदान गरे । हरिशंकर र रुपेशले समान ५१/५१ रन बनाए । यस्तै, पवन शर्राफ ३१ र विशाल पटेल १२ रनमा आउट भए । गण्डकीका विपिन खत्री र कमल परियारले समान २–२ विकेट हात पारे । विपिनले १० ओभरमा ३ मेडन राख्दै ३३ रन खर्चिए । कमलले ७ ओभर बलिङ गर्दै ३५ रन खर्चिए । 

सुदीप अर्याल भने महँगा सावित भए । चार ओभर बलिङ गरेका अर्यालले बिनाविकेट ४७ रन खर्चिए । यो नतिजापछि गण्डकी चार अंकका साथ तालिकाको नवौं स्थानमा रहेको छ । गण्डकीले खेलेका ९ मध्ये २ मा जित र ७ खेलमा पराजय भोगेको छ । मधेश भने समान चार नै अंकका साथ रन रेटका आधारमा आठौं स्थानमा रहृयो । मधेशले ७ खेलमा दुईमा जित र पाँचमा हार बेहोरेको थियो । 

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully