दाङ — लमहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई २४३ रनको विजयी लक्ष्य दिएको छ ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका किरण ठगुन्नाको शतकीय पारीमा कोशीलाई २४३ रनको विजयी लक्ष्य दिएको हो ।
सुदूरपश्चिमका लागि छैटौं नम्बरमा ब्याटिङ गर्न आएका किरणले ९१ बलमा ४ छक्का र १२ चौकाको मद्दतमा ११५ रन बनाए । उनले शतकपछि ठूला सट प्रहार गर्ने क्रममा फिर्दोश अन्सारीको बलमा लङअफमा प्रकाश कार्कीको हातबाट क्याच आउट हुन पुगे ।
फागुन २५ बाट जारी प्रतियोगितामा किरण यसअघि पनि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गण्डकी प्रदेशविरुद्ध अविजित १२१ बनाउँदै पहिले शतक बनाउने खेलाडी बनेका थिए ।
प्रतियोगितामा सुदूरपश्चिमले ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २४२ रन जोड्यो । सुदूरपश्चिमको पारी उकास्न किरणबाहेक अरु खेलाडीले ब्याटबाट प्रभाव छाड्न सकेनन् ।टेक बोहरा १६ रन, अर्जुन बिक १५ रन, शेर मल्ल र कप्तान नारायण जोशी समान १४-१४ रन बनाएर आउट भए । सौर्य श्रेष्ठ र निश्चल क्षेत्री १०-१० रन बनाएर आउट भए ।
कोशीका लागि ज्ञानेन्द्र श्रेष्ठले ९ दशमलव ४ ओभरमा १ मेडनसहित ४८ रन दिएर ४ विकेट लिए । फिर्दोश अन्सारीले ८ ओभरमा १ मेडनसहित ३३ रन दिएर २ विकेट लिँदा कप्तान अंकित सुवेदीले पनि ५ ओभरमा ३० रन दिएर २ विकेट हात पारे । दिपेश कँडेल र प्रकाश कार्कीले १-१ विकेट लिए ।
२४३ रनको विजयी लक्ष्यका साथ कोशीले जवाफी ब्याटिङ गर्दै छ ।
अहिलेसम्म ७ खेल खेलिसकेको सुदूरपश्चिम २ खेलमा जित र ५ मा हार बेहोर्दै ४ अंकका साथ सातौं स्थानमा रहँदा समान ७ खेल खेलिसकेको कोशी १ खेलमा जित र ६ खेलमा लगातार हार बेहोर्दै २ अंकका साथ अंक तालिकाको दशौं स्थानमा छ ।
नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टिमले खेलिरहेका छन् । राउन्ड रोविनका आधारमा भइरहेको प्रतियोगिता चैत १६ सम्म चल्नेछ ।
तीन खेल मैदानमा भइरहेको प्रतियोगिताअन्तर्गत रुपन्देहीको सिद्धार्थ रंगशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५, दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १४ वटा गरी ४६ वटा खेल भइरहेका छन् । शनिबारसम्म ३४ वटा खेल भइसकेका छन् ।
