सिन्धुपाल्चोक — प्रथम सहिद स्मृति जिल्लास्तरीय ब्याडमिन्टन ०८१ मेन्स डबलतर्फको प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्ण थापा र नवराज सापकोटाले उपाधि उचालेका छन् ।
शम्भु स्मृति आश्रम नेपालको आयोजनामा बाह्रबिसे नगरपालिका–३ खुर्सानीबारीस्थित कर्भड हलमा शनिबार अबेरसम्म चलेको जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगितामा उनीहरुले अन्तिम खेलमा रमेश श्रेष्ठ र प्रकाश श्रेष्ठलाई पराजित गर्दै प्रथम हुन सफल भए ।
३६ टिम सहभागी मेन्स डबलमा १६ सेटको खेलमा २–१ सेटमा उनीहरुसँग हारेर रमेश र प्रकाश द्वितीयमा चित्त बुझाए । प्रतिस्पर्धी अनिश गुरुङ र रुद्रलाल श्रेष्ठ ,अजय तामाङ र किशन दुलाल तेस्रोमा खुम्चिए । त्यस्तै भेट्रान्स डबलतर्फको प्रतियोगितामा मेलम्ची नगरक्षेत्रका नारायणलाल श्रेष्ठ र राजनमान श्रेष्ठ प्रथम भए । उनीहरुले प्रतियोगी राकेश थापा र साजन न्यौपानेलाई फाइनलमा हराए । १२ टिमबीच प्रतिस्पर्धा चलेको भेट्रान्स डबलमा थापा र साजन द्वितीय भए भने बलेफी गापाका मिङमार तामाङ र दिनेश थापा, अजय पराजुली र रत्न श्रेष्ठ तृतियमा रहे ।
उता महिला सिंगलतर्फको च्याम्पियन प्रर्तिस्पर्धी टसी शेर्पाले युलि शेर्पालाई जितेर बिजेता भइन् । ८ टिमबीचको खेलमा शहनसिला श्रेष्ठ र दृष्टि थापा तृतीय भएका थिए । जनयुद्धमा सहादत पाएका सहिदको सम्झनामा गरिएको प्रतियोगिता शुक्रबारबाट सुरु भएर शनिबारसम्म चलेको थियो । विजेतालाई प्रतिनिधि सभा १ का संघीय सांसद माधव सापकोटाले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा लिसंखुपाखर गापाका अध्यक्ष राजु लामा ,नेता भरत पराजुली रदिप , सहिद परिवारका प्रतिनिधि उपस्थित थिए ।
जसमा मेन्स डबलतर्फ क्रमश : नगद प्रथम ३० हजार, दोस्रो २० हजार , तृतीयद्वय दुई टिमले १० /१० हजारसहित शिल्ड, मेडल, प्रमाणपत्र पाए । भेट्रान्स डबलमा क्रमश : नगद प्रथम २५ हजार, दोस्रो १५ हजार, तृतीयद्वय दुई टिमले ७ हजार ५ सय /७ हजार ५ सयसहित शिल्ड, मेडल, प्रमाणपत्र पाए ।
उता महिला सिंगलमा क्रमश : नगद प्रथम दश हजार, दोस्रो ७ हजार ५ सय, तृतीयद्वय दुई टिमले ५ हजार /५ हजारसहित शिल्ड, मेडल, प्रमाणपत्र पाएका छन् । लामो समय जिल्लामा ब्याडमिन्टनसम्बन्धी गतिविधि हुन् सकेको थिएन । हालै खेलकुद प्रवर्धनको लक्ष्य बोकेर सम्पूर्ण सहिदको सम्झनामा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता गरिएको शम्भु स्मृति आश्रम नेपालले जनाएको छ ।
