विश्व म्याराथन(एम्स)को बोर्ड बैठक नेपालमा हुने

चैत्र १०, २०८१

कान्तिपुर संवाददाता

Board meeting of World Marathon (AIIMS) will be held in Nepal

काठमाडौँ — वर्ल्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस(एम्स)को बोर्ड बैठक नेपालमा हुने भएको छ ।

यही जेठ तेस्रो साता काठमाडौंमा एम्सको बोर्ड बैठक हुने सुनिश्चित भएको नेपालका लागि एम्सका दूत टीएस ठकुरीले जानकारी दिए । जेठ २१ र २२ गते(जुन ४–५) मा एम्सको बोर्ड बैठक हुनेछ ।

कुनै पनि विधाको विश्वव्यापी फेडरेसनको बोर्ड बैठक नेपालमा हुन लागेको सम्भवतः यो पहिलो हो । यसअघि एसियाली निकायसम्मका बोर्ड बैठक तथा कंग्रेस नेपालमा आयोजना भएका थिए ।

निरन्तर लबिङपश्चात् एम्सको बोर्ड बैठक नेपालमा होस्ट गर्न सम्भव भएको एम्स दूत रहेका नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले बताए । ‘एम्सको बोर्ड बैठक नेपालमा बस्नु भनेको समग्र देशको पर्यटनका लागि खुशीको खबर हो ।’ नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले भने–‘यसले नेपालका बारेमा विश्वव्यापी प्रचार प्रसार हुनेछ । साथै नेपालका रेस आयोजकलाई अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध विस्तार गर्न, दौडको विश्वव्यापी अभियानसँग परिचित हुन र केही सिक्न सुवर्ण अवसर समेत प्रदान गर्नेछ ।’

एम्सले संसारभर वर्ल्ड एथ्लेटिक्ससँग समन्वय गरेर रोड रेसहरुको नियमन तथा प्रवर्धन गर्दछ ।  एम्सको सञ्जाल एक सय बीस देशमा छ । करिब ४ सय ५० रोड रेस आयोजक यसका सदस्य छन् । संसारभर रोड रेसको मापन र मान्यता एम्सले नै दिने गर्दछ ।

कान्तिपुर

Link copied successfully