अनिशले जिते पिस म्याराथन

चैत्र १०, २०८१

मनोज पौडेल

Anish won the Peace Marathon

लुम्बिनी — तेस्रो लुम्बिनी पिस म्याराथनको उपाधि अनिश थापामगरले जितेका छन् । भारतीय सेनाको फोर एट गोर्खा राइफलका अनिशले २ घण्टा २० मिनेट १८ सेकेन्डमा ४२.१९५ किमि म्याराथन दुरी पूरा गरे । उनले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । 

पर्वतको फलेबास नगरपालिका–२ का अनिश १६ वर्षदेखि भारतीय सेनामा कार्यरत छन् । ३८ किमिसम्म पछि रहेका उनी पर्साचोकबाट केन्याली धावकलाई उछिनेका थिए । 

गत वर्षको दोस्रो लुम्बिनी पिस म्याराथनमा उनी चौथो भएका थिए । त्रिभुवन आर्मी क्लबका सुशीलकुमार शाही दोस्रो भए । उनले २ घण्टा २० मिनेट २५ सेकेन्डमा पूरा गरेर २ लाख ५० हजार पुरस्कार जिते । केन्याका धावक स्टेफेन कास्गेई तेस्रो भए । उनले २ घण्टा २० मिनेट ४७ सेकेन्डमा पूरा गरेर १ लाख ५० हजार पुरस्कार जिते ।

विजेता अनिशले शान्तिभूमिमा आएर उपाधि जित्न पाउँदा धेरै खुसी लागेको बताए । ‘यहाँबाट जाने सन्देश विश्वव्यापी हुन्छ । त्यही भएर दौड्दा विश्वशान्तिको कामना गरें । शान्तिको मुहानमा शान्तिको पुरस्कार जित्न पाउँदा खुसी छु,’ उनले भने । हजारौं माइल परबाट आएर सफलता प्राप्त गरी खुसी साट्न पाउँदा गर्व लागेको उनले बताए । 

महिला हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितकी छिन् । २१ किमि दुरी उनले एक घण्टा २० मिनेट ५ सेकेन्डमा पूरा गरिन् । उनले १ लाख ५० हजार पुरस्कार पाइन् । त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपाने २ घण्टा २१ मिनेट ४९ सेकेन्डबाट दोस्रो भइन् । उनले १ लाख पाइन् । चीनकै चेन वीइले २ घण्टा २६ सेकेन्डबाट तेस्रो भइन् ।

उनले ८० हजार पाइन् । पुरुष ५ किलोमिटर दौडमा नागेश्वर अहिर, गणेशसिंह रावत र भूपेन्द्र सुनार शीर्ष तीन स्थानमा रहे । नागेश्वरले १५ मिनेट ४६.८ सेकेन्डमा दौड पूरा गरे । गणेशले १५ मिनेट ५०.४ सेकेन्ड र भूपेन्द्रले १६ मिनेट ०.१ सेकेन्डमा दौड पूरा गरे । महिला ५ किमि दौडमा २१ मिनेट १४.४४ सेकेन्डमा दौड पूरा गर्दै नीरमाया चौधरी पहिलो भइन् । चिनियाँ धाविकाद्वय दोस्रो र तेस्रो भए । छिन वान्चीले ३३ मिनेट २७.१८ र वाङ याचीले ३३ मिनेट ४०.२७ सेकेन्डमा दौड पूरा गरे । 

५ किमि छात्र दौडमा कृष्ण परियार पहिलो भए । अमृत विश्वकर्मा दोस्रो र उमेश बराई तेस्रो भए । छात्रातर्फ चाँदनी पासी, कुसुम ठगुन्ना र माया बराई शीर्ष तीन स्थानमा विजयी रहे । विजेता खेलाडीलाई नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठले पुरस्कार वितरण गरे ।

दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति तथा अन्तर्राष्ट्रिय ध्यान महोत्सव कार्यक्रमअन्तर्गत चिनियाँ दूतावाससँगको सहकार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित विभिन्न निकायको आयोजनामा तेस्रो लुम्बिनी पिस म्याराथन गरिएको थियो । प्रतियोगितामा केन्याका धावक ६, चीनका ५० र नेपालका एक सय धावक दौडिएका थिए । लुम्बिनी स्क्वायरबाट म्याराथन सुरु भई त्यहीं आएर समापन भयो ।

मनोज पौडेल

Link copied successfully