कास्की — नेपाल सुपर लिग (एनएसएल)को ट्रफी पोखरामा अनावरण गरिएको छ । देशका प्रमुख सहरमा प्रदर्शन गरिँदै आएको ट्रफी शनिबार गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले पोखरा रंगशालामा अनावरण गरे ।
मन्त्री थापाले पोखरा रंगशालाको भौतिक पूर्वाधार निर्माणपछि गण्डकीको खेल क्रियाकलापमा योगदान पुगेको बताए । खेल र पर्यटनलाई जोड्न सके मात्र आर्थिक हिसाबले पोखरालाई फाइदा पुग्ने उनको भनाइ थियो ।
प्रतियोगिताको सहभागी टिम पोखरा थन्डर्स एफसीको व्यवस्थापनमा ट्रफीलाई शनिबार साँझसम्म पोखराका ८ ठाउँमा प्रदर्शन गरिने छ । बिन्ध्यावासिनी मन्दिर, पुम्दीकोट शिव मन्दिर, शान्ति स्तूप, फेवाताल, पोखरा रंगशाला, पृथ्वीचोक, बेगनास ताल र सृजनाचोकस्थित एनसेल सेन्टरमा ट्रफी प्रदर्शन गरिने पोखरा थन्डर्स एफसीका व्यवस्थापक घनश्याम थापले जानकारी दिए ।
धनगढी, बुटवल, झापा, चितवनमा अनावरण एवं प्रदर्शनपछि ट्रफी पोखरा ल्याइएको हो । पोखरापछि ललितपुर र काठमाडौंमा ट्रफी प्रदर्शन गरिने छ । नेपाल सुपर लिगको तेस्रो संस्करण चैत १६ देखि वैशाख १३ सम्म दशरथ रंगशालामा हुँदैछ ।
ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, झापा एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल–लुम्बिनी एफसी र धनगढी एफसी गरी ७ टिमले तेस्रो संस्करण खेल्ने छन् । लिगको पहिलो संस्करण ललितपुर सिटी एफसी र दोस्रो संस्करण काठमाडौं रेजर्सले जितेका थिए । उपाधि विजेता २ टिमबीच तेस्रो संस्करणको उद्घाटन खेल हुनेछ ।
