काठमाडौँ — तेन्जिङ राई र स्वस्तिका चौधरीले शनिबार वोङ्छु पिक एन्ड मुसा मसला नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि जितेका छन् ।
नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएन (एनसीएसए) को आयोजनामा सम्पन्न स्पर्धाको पुरुषतर्फ तेन्जिङ समग्रमा १८०५ अंक जोडेर च्याम्पियन बने । बोल्डरमा १ हजार स्कोर गरेका तेन्जिङले लिडमा ८०५ स्कोर जोडे पनि समग्रमा धेरै स्कोर बनाएर विजेता भए ।
पेम्बा छेवाङ शेर्पा राई १६९० स्कोरसहित दोस्रो भए । पेम्बाले बोल्डरमा ६९० स्कोर जोडे । तर लिडमा १ हजार अंक जोडेपछि उनले समग्रमा दोस्रो बनेका हुन् । रौनक उप्रेती तेस्रो भए । बोल्डरमा ८०५ स्कोर गरेका रौनक लिडमा ६९० स्कोरसहित समग्रमा १४९५ स्कोर गरेर तेस्रो भए । पुरुषतर्फ १३ खेलाडी प्रतिस्पर्धी थिए । अन्तिम चरणमा ८ खेलाडी छनोट भए ।
महिलातर्फ स्वस्तिकाले दुवै विधामा उत्कृष्ट प्रदर्शन गरिन् । उनी लिड र बोल्डर दुवैमा १ हजार स्कोर गर्दै समग्रमा २ हजार स्कोरसहित च्याम्पियन भइन् । रुशा प्रधान दोस्रो र मनीषा बुढा मगर तेस्रो भए । रुशाले लिड र बोल्डरिङ दुवैमा समान ८०५ स्कोर गरिन् । मनीषाले पनि दुवै विधा समान ६९० स्कोर जोडिन् । उनीहरू शीर्ष तीनसँगै तेन्जिङ खान्डो तामाङ, पञ्चमाया तामाङ र सन्तोषी मगर गरी ६ खेलाडीले मात्र भाग लिएका थिए ।
महिला र पुरुषको च्याम्पियन दुवैले ५० हजारसहित पदक जिते । दोस्रोले ३० हजार र तेस्रोले २० हजार पाए । ६ वर्षपछि पहिलो पटक क्लाइम्बिङ स्पोर्टको नेसनल च्याम्पियनसिप भएको हो । यसअघि सन् २०१९ मा च्याम्पियनसिप भएको थियो । त्यसपछि कोरोना महामारी र अन्य कारणले गर्दा लामो समय च्याम्पियनसिप हुन सकेन । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनका कार्यबाहक अध्यक्ष रमेश पौडेलले लामो समयपछि च्याम्पियनसिप गर्न सफल भएको बताए । उनले नेपाली क्लाइम्बिङ स्पोर्टलाई ओलम्पिकसम्म पुर्याउने लक्ष्य भएको बताए ।
नेपालमा क्लाइम्बिङ स्पोर्टको ठूलो सम्भावना रहेको र नेसनल च्याम्पियनसिप आयोजना भएपछि अन्य खेलाडीका लागि समेत अवसर हुने उनले बताए । प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्यसचिव दीपक लामाले क्लाइम्बिङ स्पोर्टमा सम्भावना रहेकाले सहयोग गर्न प्रदेश तयार रहेको बताए ।
