बुटवलमा प्रिन्स विजेता

चैत्र ९, २०८१

सन्जु पौडेल

Prince Conqueror at Butwal

तिलोत्तमा — नेपालका नम्बर वान खेलाडी प्रिन्स दाहालले बुटवलमा शनिबार तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा उपाधि जितेका छन् ।

उनले मेन्स सिंगल्सको उपाधि जिते । सिंगल्स फाइनलमा प्रिन्सले एपीएफका क्षितिज खनाललाई हराएका थिए । आर्मीका हिमाल चन्द र एपीएफका देवराज राना तेस्रो भए ।

डबल्सतर्फ एपीएफका भोजबहादुर गुरुङ र प्रनिशसिंह ठकुरीले उपाधि जितेका छन् । उनीहरूले लाफा ब्याडमिन्टन क्लबका बलराम क्षेत्री र विवेक न्यौपानेलाई हराए । आर्मीका प्रविन लिन्थेप र विधान अधिकारी तथा हिमाल चन्द र सन्तोष पनेरुको जोडी तेस्रो भयो ।

भेट्रान्स ४५ वर्षमाथि लाफाका राजु गुरुङ र सुदीप योञ्जनको जोडीले तिलोत्तमा ब्याडमिन्टन क्लबका बुद्धि चौधरी र दिलबहादुर कन्दङ्वालाई हराएर उपाधि जित्यो । न्यु लम्बिनी क्लबका बलराम पन्थी र खगेन्द्र तथा तन्नेरी ब्याडमिन्टन क्लबका प्रेम गुरुङ र विष्णुलाल श्रेष्ठको जोडी तेस्रो भए ।

सुपर भेट्रान्स ५५ वर्षमाथि अनिल लाखे र शम्भुकुमार श्रेष्ठको जोडीले कास्कीका राजु गुप्ता र राजेन्द्र वाग्लेलाई हराएर उपाधि जित्यो । बुटवल ब्याडमिन्टन क्लबका दिलीप गौचन र महेश नेपाल तथा पीएसबीसीका रवि होना र इन्द्र थापाको जोडी तेस्रो भयो । मास्टर्स भेट्रान्स ६० वर्षमाथी तन्नेरी ब्याडमिन्टन क्लबका प्रेमप्रसाद गुरुङ र विष्णुलाल श्रेष्ठको जोडीले आफ्नै क्लबका दिल पुन र श्यामकृष्ण श्रेष्ठलाई हराएर उपाधि जित्यो । काठमाडौंका पूर्णचन्द्र जोशी र सुरेशचन्द्र श्रेष्ठ तथा भैरहवाका गणेश क्षेत्री र महेन्द्र श्रेष्ठको जोडी तेस्रो भयो ।

मेन्स सिंगल्स र डबल्सका विजेता, दोस्रो र तेस्रो हुनेले क्रमशः ५० हजार, ३० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । ४५ वर्ष माथि पहिलो, दोस्रो र तेस्रोले क्रमशः ४०, ३० र १० हजार, ५५ वर्षमाथि पहिलो, दोस्रो र तेस्रोले क्रमशः २५, १५ र ५ हजार, ६० वर्षमाथि पहिलोले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार पुरस्कार प्राप्त गरेका थिए ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully