लेटाङ र फ्युजन भिड्दै

चैत्र ९, २०८१

कान्तिपुर संवाददाता

Letang and Fusion clash

विराटनगर — लेटाङ फुटबल क्लब पाँचौं मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगरस्थित जुट मिल मैदानमा शुक्रबार सेमिफाइनलमा घरेलु टिम पेमा युवा स्पोर्टिङ क्लबलाई ६–३ गोलले हराएर लेटाङ फाइनल पुगको हो । उपाधिका लागि आइतबार लेटाङले उदयपुरको फ्युजन फुटबल क्लब गाइघाटसँग प्रतिस्पर्धा गर्नेछ । 

लेटाङबाट सौगात राईले २, विवेक राई, अनुप मगर, सन्दीप मगर र किरण शंकरले १–१ गोल गरे । पेमाको तर्फबाट निशान्त राई, रोशन राई र प्रनिश न्यौपानेले १–१ गोल गरेका थिए । चौथो मिनेटमा पेमाका निशान्तले गोल गर्दै टिमलाई अग्रता दिलाए । 

५ मिनेट बित्न नपाउँदै पेमाका रोशन राईले नवौं मिनेटमा गोल गरी अग्रता दोब्बर बनाए । यो अग्रता पहिलो हाफसम्म मात्रै टिक्यो । नवौं मिनेटमा २–० गोलले लेटाङ पछि परेपछि आक्रामक खेल पस्कियो । त्यसपछि लेटाङका खेलाडी विवेक राईले २३ औं मिनेटमा पुजन चौधरीले निकालेको पासमा गोल गरे । खेलको ३२ औं मिनेटमा अनुपले अर्को गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफसम्म २–२ गोलको बराबरी भयो । दोस्रो हाफपछि लेटाङले आक्रामक खेल पस्कियो । 

५७ औं मिनेटमा सन्दीप मगरले गोल गर्दै अग्रता तेब्बर बनाए । किरण शंकरले ६५ औं मिनेटमा गोल गर्दै लेटाङले ४–३ गोलले अग्रता बनायो । ७० औं मिनेटमा सौगातले बक्सभित्रबाट गरेको प्रहारले गोलमा परिणत भयो । लगत्तै पेमाका प्रनिश न्यौपानेले गोल गर्दै अग्रता घटाए । खेलको ७८ औं मिनेटमा लेटाङका सौगातले गोल थप्दै जित सुनिश्चित गरे । 

प्लेयर अफ द म्याच लेटाङका किरण शंकर भए । उनले २ हजार १ सय पाए । मिल्स गोल्डकप फुटबल ट्रस्टको आयोजना भएको प्रतियोगिता विजेताले १ लाख र उपविजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्ने टस्ट्रका अध्यक्ष विष्णु डंगोलले बताए ।

कान्तिपुर

Link copied successfully