काठमाडौँ — गोकर्ण गल्फ क्लबमा शनिबार आयोजित चिभास ओपन गल्फ प्रतियोगितामा नोर्बु टी शेर्पा विजयी भएका छन् । वान ह्यान्डीक्यापसहित खेलका नोर्बुले असाधारण प्रदर्शन गर्दै ४३ स्टेबलफोर्ड अंक जोडेका थिए । उनले चेवाङ शेर्पामाथि ५ अंकको अग्रतासहित जित निकाले ।
नोर्बु टी शेर्पाको उत्कृष्ट प्रदर्शनमा तेस्रो, पाँचौं, सातौं, नवौं, ११ औं, १३ औं, १५ औं र १७ औं होलमा प्रभावशाली बर्डीहरू प्रहार गरेका थिए । दोस्रो र छैटौं होलमा दुई बोगी कार्ड बनाए । चेवाङ ३८ स्टेबलफोर्ड अंकसहित उपविजेता भए । बेस्ट ग्रसको पुरस्कार वाङचेन ढोन्डुपले पाए । उनले ३६ अंक जोडे । ढोन्डुपले कर्णेल निश्चयजंग रायमाझीलाई काउन्टब्याकमा हराए । कर्णेलको १८ अंकको तुलनामा ब्याकनाइनमा ढोन्डुपले १९ अंक बनाए ।
महिलातर्फ गीता गुरुङले २५ अंकसहित विजयी भइन् । जबकि एन्जिला योन्जनले १९ अंकसहित उपविजेता भइन् । सिनियरतर्फ भाइराजा पाण्डेले ३३ अंकसहित विजयी भए । उनले सुहृद घिमिरे, टेन्डी शेर्पा र पूर्णबहादुर राईलाई काउन्टब्याकमा हराए ।
फुन्सोक एन लामाले लङ्गेस्ट ड्राइभको पुरस्कार जिते र निश्चयजंगले क्लोजेस्ट टु द पिनको पुरस्कार पाए ।
चिभास खुला गल्फ प्रतियोगितामा ५ महिलासहित कुल १ सय ३ खेलाडीले १८ होलमा स्टेबलफोर्ड फरम्याटमा खेलेका थिए । यो स्पर्धा पेर्नोड रिकार्डले आयोजना गरेको हो । विजेतालाई पेर्नोडका बिजनेस डेभलपमेन्ट म्यानेजर सौरभ भट्टराई, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र कप्तान जोसेफ नाथनले पुरस्कार प्रदान गरे ।
