प्रधानमन्त्री कप क्रिकेटमा शीर्षस्थानमा रहेको पुलिसलाई पछ्याउँदै ७ खेलमा छैंटौं जित हात पारेको आर्मी
दाङ — त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । आर्मीले शुक्रबार गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको थियो । लमहीस्थित देउखुरी क्रिकेट रंगशालामा आर्मीले टस जितेपछि ब्याटिङ निम्तो पाएको गण्डकी ३०.३ ओभरमा सबै विकेट गुमाएर १ सय १६ रनमा अलआउट भयो ।
आर्मीले २६.५ ओभरमै लक्ष्य पूरा गरेको हो । सातौं खेलमा छैटौं विजय हात पार्दै आर्मी १२ अंकसहित दोस्रो स्थानमा छ । नेपाल पुलिस क्लब पहिलो सात खेल जितेर १४ अंकका साथ शीर्षस्थानमा छ । सहभागी १० टोलीले राउन्ड रोबिनमा एकअर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनलमा खेल्ने प्रावधान छ ।
आर्मीका शाहब आलमले ५ विकेट लिएपछि गण्डकी सस्तैमा समेटिन पुग्यो । देव्रेहाते स्पिनर शाहबले १० ओभरमा १ मेडन राख्दै ४२ रन खर्चेर सानदार बलिङ गरी प्लेयर अफ द म्याचमा चुनिए । उनले प्रतियोगितामा २० विकेट लिइसकेका छन् । उनले ३० विकेट लिएर शीर्षस्थानमा रहेका पुलिसका ललित राजवंशीलाई पछ्याइरहेका छन् । आर्मीका अर्का देव्रेहाते स्पिनरद्वय कुशल मल्ल र नरेन साउदले पनि २–२ विकेट लिए भने सुवास भण्डारी ४ रनमा रनआउट भएका थिए ।
गण्डकीबाट ओपनर अर्जुन कुमालले सर्वाधिक ३३ रन बनाए । ४९ बल खेल्दै ४ चौकाको प्रहार गरेका उनी शाहबद्वारा बोल्ड भए । अर्जुन र समीर कँडेलले १३ ओभरभित्र पहिलो विकेटमा ४६ रन जोड्दै गण्डकीलाई संयमित सुरुआत दिलाएका थिए । समीरलाई ८ रनमा शाहबले आउट गरी यो साझेदारी तोडेका थिए । दीपक डुम्रे १९, कमल परियार १७, कप्तान विपिन खत्री १५ रनमा आउट भए । अरू खेलाडीले दोहोरो स्कोरमा रन जोड्न सकेनन् ।
आर्मीबाट ओपनर तृतराज दासले ६८ बलमा ३ चौकासहित ३७ रन जोडे । अर्का ओपनर एवं कप्तान विनोद भण्डारी १ रनमै आउट भए । इमरान शेख १२ र भीम सार्की १४ रनमा आउट भए । बसिर अहमद ३८ बलमा ३ चौका र १ छक्कासहित ३२ र सोमपाल कामी २१ बलको सामना गर्दै १० रनमा अविजित रहे । गण्डकीका चन्द्र पौडेल, विपिन र सुदीप अर्यालले १–१ विकेट लिए । गण्डकी १ खेलमा जित र ६ मा हार बेहोर्दै २ अंकसहित तालिकाको पुछारमा छ । गण्डकीको यो लगातार पाँचौं हार हो ।
