१२ लाख राशिको २३ औं तिलोत्तमा गोल्डकप आजदेखि

८ टोली सहभागी

चैत्र ९, २०८१

सन्जु पौडेल

12 lakhs 23rd Tilottama Gold Cup from today

तिलोत्तमा — तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण आजदेखि रुपन्देहीमा सुरु हुँदैछ । जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको प्रतियोगिता चैत १६ गतेसम्म चल्नेछ । प्रतियोगिताका सम्पूर्ण खेल देविनगरस्थित एन्फा टेक्निकल मैदानमा हुनेछ ।

प्रतियोगितामा २ विदेशीसहित ८ टिम सहभागी हुने रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । तिलोत्तमा गोल्डकपको २२ औं संस्करणको उपाधि विजेता मनाङ मर्याङ्दी क्लब भने यसपटक सहभागी नहुने भएको छ । 

सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा आयोजक रुपन्देही–११, विभागीय टोली सशस्त्रको एपीएफ क्लब, काठमाडौंको संकटा एफसी, जर्जियन एफसी भारत छन् । समूह ‘बी’मा चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, र भारतको एडोर्न गडवाल स्पोर्टिङ कलब छन् । 

शनिबार हुने उद्घाटन खेलमा आयोजक करेन्ट रुपन्देही–११ र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । चैत्र १० गते चर्च ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लब, चैत्र ११ गते संकटा एफसी र भारतको जर्जियन एफसी, चैत्र १२ गते मच्छिन्द्र एफसी र भारतको एडोर्न गडवाल स्पोर्टिङ कलबबीच खेल हुनेछ ।

यो वर्ष पुरस्कार राशिमा समेत अघिल्लो संस्करण भन्दा १ लाख रुपैयाँ वृद्धि गरिएको जिल्ला फुटबल संघका अध्यक्ष पुनले बताए । यस वर्ष प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ६ लाख ६६ हजार ६६६ रुपैयाँ पाउनेछन् । त्यस्तै, विधागततर्फ उत्कृष्ट हुने सबैलाई जनही ३१–३१ हजार रुपैयाँ र ट्रफी तथा सर्वश्रेष्ठ खेलाडीलाई एक थान मोटरसाइकल वा स्कुटर प्रदान गरिने छ । प्रतियोगिताका प्रत्येक खेलका प्लेयर अफ दि म्याचलाई ११ हजार १ सय ११ प्रदान गरिने आयोजकले जनाएको छ । 

बुटवल उपमहानगरपालिका संरक्षक रहेको प्रतियोगितामा यशोदा फुड्स प्रालि र त्रिमूर्ति इण्डस्ट्रिज प्रालि मुख्य प्रायोजक हुन् । प्रतियोगिता सम्पन्न गर्न कुल १ करोड ८ लाख ८८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा बुटवल उपमहानगरपालिकाले ४० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully