छैटौं सृजना कप भलिबल चैत २६ देखि

चैत्र ८, २०८१

अनुप पौडेल

Sixth Srijana Cup Volleyball from March 26

कास्की — कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा पोखरामा चैत २६ देखि सृजना कप सामुदायिक विद्यालयस्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता हुने भएको छ ।

खेलाडी उत्पादनको उद्देश्यले चैत २६ देखि २८ सम्म पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा प्रतियोगिता हुने आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो । प्रतियोगितामा सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थी सहभागी हुन पाउने कास्की जिल्ला भलिबल संघका अध्यक्ष विष्णुबहादुर गुरूङले जानकारी दिए । 

प्रतियोगिताको छात्रतर्फ उपाधि विजेता विद्यालयलाई १ लाख, उपविजेताले ६० हजार, तृतीय हुनेले ३५ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ । छात्रातर्फको विजेताले ७५ हजार, उपविजेताले ५० हजार, तृतीय हुनेले २५ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाउने अध्यक्ष गुरूङले जानकारी दिए । 

प्रतियोगितामा उत्कृष्ट हुने छात्र/छात्रा खेलाडीलाई ५/५ हजार रूपैयाँ र ट्रफी दिइने छ । ५ विधाका उत्कृष्ट खेलाडीलाई १/१ थान भलिबल प्रदान गरिने छ । प्रतियोगितामा ५० टिम सहभागी हुने आयोजकको अनुमान छ ।  

प्रतियोगिता सञ्चालन गर्न ११ लाख ४९ हजार रूपैयाँ खर्च हुने अनुमान रहेको सृजना विकास केन्द्रका अध्यक्ष विष्णुप्रसाद बरालले बताए । उनका अनुसार प्रतियोगिताबाट १२ लाख ५० हजार आम्दानी र १ लाख १ हजार रूपैयाँ बचत हुने अनुमान छ । 

०३७ सालमा स्थापित सृजना विकास केन्द्रले पोखरा महानगरपालिका–१७ मा बालगृह सञ्चालन गरेको छ । उक्त बालगृहमा हाल १७ जना बालबालिका आश्रित रहेको अध्यक्ष बरालले जानकारी दिए । 

अनुप

Link copied successfully