काठमाडौँ — नेपाल ओलम्पिक कमिटी (एनओसी) को बुधबार बसेको १८ औं विशेष साधारणसभाले पाँच संघलाई पूर्ण मताधिकारसहित सदस्यता प्रदान गरेको छ । अनलाइन ‘जुम’ को माध्यमबाट भएको बैठकपछि सदस्यता पाउनेमा नेपाल मोर्डन पेन्टाथलन संघ, नेपाल बेसबल तथा सफ्टबल संघ, नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ, नेपाल घोडचढी संघ र नेपाल रग्बी संघ छन् ।
यसअघि एनओसीसँग २७ राष्ट्रिय खेल संघ आबद्ध थियो । गत फागुन २७ मा कुवेतस्थित ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) मुख्यालयमा भएको दुई बुँदे सम्झौताअनुसार विशेष साधारणसभा भएको हो ।
एनओसीको सातदोबाटोस्थित मुख्यालय युवा तथा खेलकुद मन्त्रालयबाट तालाबन्दी गरिएको हुँदा बैठक जुमबाट गरिएको एनओसीले जनाएको छ । त्यसका लागि ओसीएले अनुमति दिएको थियो । विशेष साधारणसभामा ओसीएका प्रतिनिधिका रूपमा डेपुटी डाइरेक्टर जनरल विनोद तिवारीले पर्यवेक्षक भएर सहभागिता जनाएका थिए ।
यसैबीच ओसीएका डाइरेक्टर जनरल हुसेन अल मुसलमले घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारलाई पत्र लेख्दै अहिलेसम्मको घटनाक्रमलाई लिएर अन्योल सिर्जना नगर्न चेतावनी दिएका छन् ।
