तिलोत्तमा — कुशल भूर्तेलको अलराउण्ड प्रदर्शनमा विभागीय टोली नेपाल पुलिस क्लबले रुपन्देहीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बाग्मती प्रदेशलाई पराजित गरेको छ ।
तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा बिहीबार भएको खेलमा उपाधि दाबेदार पुलिसले बाग्मती प्रदेशलाई ९३ रनले पराजित गरेको हो । प्रतियोगितामा लगातार सातौं खेलमा जित हात पार्दै पुलिस क्लब फाइनलतर्फ अग्रसर देखिएको छ ।
जितका लागि पुलिसले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको बाग्मती प्रदेश ४५.२ ओभरमा अलआउट हुँदै २ सय ४ रनमा समेटियो । बाग्मतीका लागि इसान पाण्डेले ७० रनको अर्धशतकीय पारी खेले । पाण्डेले ९८ बलमा ६ चौका प्रहार गरे । शुभ कंसाकारले ३६, विपिज आचार्यले २०, सूर्य तामाङले १७, प्रतिश जीसीले १४ रन बनाए । कप्तान पृथु बास्कोटा ११ रनमा आउट भए । पुलिसका ललित राजवंशीले कसिलो बलिङ गर्दै सर्वाधिक चार विकेट लिए । कुशल भूर्तेलले ३ तथा करण केसीले २ विकेट हात पारे । गुल्सन झाको नाममा एक विकेट रहृयो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ९७ रनको उच्च योगफल तयार पारेको थियो । पुलिसको जितमा ओपनर कुशल भूर्तेल नायक बने । भूर्तेलले सर्वाधिक ८८ रनको योगदान गरे । ९८ बलको सामना गरेका भूर्तेलले ११ चौका प्रहार गरे । उनी प्लेयर अफ द म्याच घोषित भए ।
कप्तान दीपेन्द्र सिंह ऐरीले ६० रनको अर्धशतकीय इनिङ खेले । ऐरीले ४६ बलमा चार चौका र ३ छ्क्का प्रहार गरे । यस्तै, अमित श्रेष्ठले ४८, आरिफ शेखले ३८, गुल्सन झाले १६ बनाउँदा दिलीप नाथ १० रनमा आउट भए । बलिङमा बाग्मतीका लागि प्रतिश जीसीले ३ विकेट लिए । जीसीले १० ओभरमा ४६ रन खर्चिए । रिजन ढकाल, इसान पाण्डे, साकार गजुरेल र विपिज आचार्यका नाममा समान एक-एक विकेट रहृयो । यो नतिजासँगै अपराजित पुलिस १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा यथावत् छ। अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब १० अंकसहित दोस्रो स्थानमा रहेको छ ।
बाग्मती प्रदेशको यो चौथो हार हो । बाग्मतीले खेलेका ६ मध्ये २ खेलमा मात्र जित निकालेको छ । चार अंकका साथ बाग्मती प्रदेश तालिकाको आठौं स्थानमा छ ।
