धनगढीलाई माई सेकेन्ड टिचरको साथ

चैत्र ७, २०८१

कान्तिपुर संवाददाता

Dhangadhi with my second teacher

काठमाडौँ — नेपाल सुपर लिग (एनएसएल) फुटबलको फ्रेन्चाइज टोली धनगढी एफसीको मुख्य प्रायोजकमा डिजिटल लर्निङ प्लेटफर्म ‘माई सेकेन्ड टिचर नेपाल’ आएको छ । चैत १६ देखि वैशाख १३ सम्म हुने एनएसलका लागि माई सेकेन्डसँग सम्झौता भएको धनगढीले जनाएको छ ।

सम्झौतामा धनगढी एफसीका अध्यक्ष सुवास शाही र माई सेकेन्ड टिचर नेपालकी प्रमुख मेधा भट्टराईले हस्ताक्षर गरे । सम्झौताको आर्थिक पक्ष भने खुलाइएको छैन । प्रायोजनमार्फत माई सेकेन्ड टिचर नेपालले शिक्षा र खेलकुदलाई सशक्त रूपमा जोड्ने लक्ष्य राखेको माई सेकेन्ड टिचरले जनाएको छ ।  

‘माई सेकेन्ड टिचर नेपालले प्रविधिको माध्यमबाट नेपालको शिक्षाको रूपान्तरणमा कार्य गर्दै आएको छ,’ प्रमुख भट्टराईले विज्ञप्तिमा भनेकी छिन्, ‘यो सहकार्य प्रविधि र नवप्रवर्तनसहित शिक्षालाई खेलकुदसँग जोड्ने महत्त्वपूर्ण कदम हो ।’ धनगढीका अध्यक्ष शाहीले यस्तो सम्झौताले फुटबलको व्यवसायीकरणमा सहयोग पुग्ने विश्वास लिँदै यसले शिक्षालाई खेलकुदसँग जोड्ने नयाँ सम्भावना उजागार गरेको बताए ।

दुवै संस्थाबीच भावी दिनमा ग्रासरुटदेखि राष्ट्रिय स्तरसम्म शिक्षा र खेलकुदको विकासमा सहकार्य गरेर अगाडि बढ्ने समझदारी पनि भएको जनाइएको छ । एनएसएलको पहिलो दुई संस्करणमा धनगढी फाइनलमा पुगेको थियो । धनगढीले चैत १९ मा बुटवल लुम्बिनीसँग खेलेर प्रतियोगिता सुरु गर्नेछ ।  

कान्तिपुर संवाददाता

Link copied successfully