दीपेन्द्र रावतको उत्कृष्ट प्रदर्शनमा कर्णाली विजयी

चैत्र ७, २०८१

सन्जु पौडेल

Deependra Rawat's excellent performance Karnali won

तिलोत्तमा — दीपेन्द्र रावतको अलराउण्ड प्रदर्शनमा कर्णालीले रुपन्देहीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट स्टेडियममा बिहीबार भएको खेलमा कर्णालीले घरेलु टोली लुम्बिनीलाई ५ रनले पराजित गरेको हो । कर्णालीको यो तेस्रो जित हो ।

कर्णालीले दिएको २०६ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी ४९.४ ओभमा अलआउट हुँदै २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रनको योगदान गरे पनि त्यो जितका लागि पर्याप्त भएन । १०७ बलको सामना गरेको थापाले ६ चौका प्रहार गरे । कप्तान देव खनालले ६० बलमा चार चौकाको मद्दतमा ४० रन बनाए । आकाश त्रिपाठी २१ र मनीष थापा १६ रनमा आउट भए । 

बलिङमा कर्णालीका लागि दिनेश अधिकारी र दीपेन्द्र रावतले समान ३–३ विकेट लिए । प्रकाश जैसीले २ विकेट हात पार्दा दिवान पुन र सुनिल धमलाको नाममा एक–एक विकेट रहृयो । 

त्यसअघि सिद्धार्थ क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले ४८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २०५ रन बनाएको थियो । कर्णालीका लागि दुई जना ब्याटरले अर्धशतकीय इनिङ्स खेले । दीपेन्द्र रावतले सर्वाधिक ६६ रनको योगदान गरे । रावतले ८४ बलमा ९ चौका प्रहार गरे । उनी प्लेयर अफ दी म्याच घोषित भए । यस्तै, अर्जुन घर्तीले ८४ बलमा ३ चौका र २ छ्क्कासहित ५६ रन बनाए । सुनिल धमला १९, दिनेश अधिकारी १६ र निश्चल रावत ११ रन बनाएर आउट भए । विपिन रावलले १० रन बनाउँदा हिक्मत शाही र प्रकाश जैशी भने शून्यमा आउट भए । 

बलिङमा लुम्बिनीका रमेश कुर्मीले सर्वाधिक तीन विकेट लिए । कसिलो बलिङ गर्दै उनले १० ओभरमा चार मेडन राख्दै ३७ रन मात्र खर्चिए । यस्तै, बिप्रासन केसी, अजय चौहान र निर्मल गुरुङले दुई/दुई विकेट लिँदा कप्तान देव खनालका नाममा एक विकेट रहृयो । 

यो नतिजासँगै कर्णाली ६ खेलबाट ६ अंकका साथ तालिकाको पाँचौं स्थानमा रहेको छ । हारका बाबजुद लुम्बिनी तालिकाको तेस्रो स्थानमा यथावत् छ । लुम्बिनीले सातमध्ये चारमा जित र तीनमा हार व्यहोर्दै ८ अंक जोडेको छ । 

प्रतियोगिताअन्तर्गत शुक्रबार सिद्धार्थ त्रिकेट रंगशालामा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबार नै कर्णाली र मधेश प्रदेशबीच पनि खेल हुनेछ । तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा बिहान ९ बजे कर्णाली र मधेश प्रदेश आमनेसामने हुनेछन् ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully