काठमाडौँ — उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माणको काम वैशाख २४ गतेभित्रै सम्पन्न हुने दाबी गरेका छन्।
बिहीबार निर्माणाधीन मैदानको निरीक्षण गर्न गएका सिंहले निर्माण कम्पनीसँग वैशाख २४ गतेसम्मको समयसीमा रहेको र समयमै काम पूरा गर्न तीव्र गतिमा काम भइरहेको बताए। उनले तीन चरणमा निर्माण कार्य अघि बढाइएको बताए । उनले भने, 'यस्ता स्टेडियमहरु हामीले ठाउँ ठाउँमा बनाइरहेका छौँ ।
समयमै सक्नका लागि तीन चरणमा काम अघि बढिरहेको छ । फ्लडलाइट जडान र १० हजार सिट क्षमताको प्यारापिट बनाउने काम समयमै गर्नसके नेपालमा पनि गर्न सकिने रहेछ भनेर देखाउन सक्छौँ । तीन चरणमा युद्धस्तरमा काम भइरहेको छ । समयमै सकिने विश्वास मलाई छ ।’
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि सरकारले पहिलो मन्त्रीपरिषद्को बैठकमा क्रिकेट मैदान निर्माणको निर्णय गरेको र समयमै काम सम्पन्न हुने विश्वास व्यक्त गरे। उनले तीन सिफ्टमा काम भइरहेको र समयमै निर्माण सम्पन्न गर्न आग्रह गरे।
२०८२ को वैशाख २४ गतेभित्र १० हजार सिट क्षमताको प्यारापिट र ६ वटा फ्लड लाइट जडान गर्ने योजना रहेको छ। फ्लड लाइट र प्यारापिट निर्माणका लागि छुट्टाछुट्टै ठेक्का दिइएको छ।
फ्लडलाइट जडानका लागि भने ललितपुरको विशन–इश्वरी जोइन्ट भेन्चरले ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँमा ठेक्का पाएको हो।
