ताप्लेजुङ — सिरिजङ्घा गाउँपालिकाले आगामी वैशाख १५ गते ३९ देखि ४२ सय मिटर उचाइमा हाफ म्याराथन प्रतियोगिता गर्ने भएको छ । कञ्चनजंघा क्षेत्रको प्रचार गर्ने उद्देश्यले आयोजित पर्यटन महोत्सव-२०८२ को अवसर पारेर खुला म्याराथन प्रतियोगिता गर्न लागिएको हो ।
विजेताले २ लाख ८ हजार ५ सय ८६ र उपविजेताले १ लाख ८ हजार ५ सय ८६ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । मौसम खुले हाफ म्याराथनका धावकले २४ र मौसम नखुले २२ किलोमिटर दौडनु पर्ने छ । अरु सहभागीले सान्त्वना स्वरुप ८ हजार ५ सय ८६ का दरले पुरस्कार पाउने छन् । यसको मापदण्ड चैत्र १५ सम्ममा हुने सिरिजङ्घा गाउँपालिका उपाध्यक्ष एवं आयोजक समितिका संयोजक चित्र माबोले जानकारी दिए ।
यसलाई आयोजकले कञ्चनजंघा साहसिक खुला म्याराथन प्रतियोगिताको उपाधि दिएका छन् । प्रतियोगितामा देशविदेश सबैतिरका धावकले सहभागिता जनाउन सक्नेछन् ।
