तिलोत्तमा — रुपन्देहीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीले बुधबार सुदूरपश्चिम प्रदेशलाई ११७ रनको लक्ष्य दिएको छ ।
तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ४४.१ ओभरमा सबै विकेट गुमाउँदै ११६ रन बनायो । लुम्बिनीका लागि कप्तान देव खनालले बनाएको ४१ रन नै व्यक्तिगत सर्वाधिक ठूलो स्कोर रहृयो ।
प्रज्वल थापाले ३० रन बनाउँदा अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । दुई जना खेलाडी शून्य रनमा आउट भए । सुदूपश्चिमका हेमन्त धामीले सर्वाधिक चार विकेट लिए ।
उनले ९ ओभरमा एक मेडन राख्दै २६ रन खर्चिए । सौर्य श्रेष्ठ, शेर मल्ल र मिलन बोहराले समान २/२ विकेट लिए । श्रेष्ठले १० ओभर बलिङ गर्दै तीन मेडन राख्दै २७ रन खर्चिए ।
यसअघिका पाँचमध्ये चार खेलमा जित निकाल्दै लुम्बिनी प्रदेश अंक तालिकाको शीर्ष तीनमा रहेको छ । उसको ८ अंक छ । कमजोर सुदूरपश्चिम भने २ अंकका साथ तालिकाको आठौं स्थानमा रहेको छ । यसअघिका ५ मध्ये चारमा खेलमा पराजित भएको सुदूरले एक खेलमा भने गण्डकी प्रदेशलाई हराएको थियो ।
