तिलोत्तमा — स्पीनर ललित राजवंशी र गुल्शन झाको उत्कृष्ट प्रदर्शनमा विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा छैटौं जित हासिल गरेको छ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा बुधबार भएको खेलमा उपाधि दाबेदार पुलिस क्लबले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । पुलिसले अपराजित यात्रा कायम राख्दै लगातार छैटौं जित निकालेको हो ।
जितका लागि गण्डकीले दिएको ९३ रनको सामान्य लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । पुलिसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५४ रनको योगदान गरे । ऐरीले २३ बलको सामना गर्दै ३ चौका र ६ छक्का प्रहार गरे ।
ओपनर अर्जुन साउदले अविजित १८ र दीलिप नाथले १० रन बनाए । अमित श्रेष्ठले ७ रनमा बनाउँदा कुशल भुर्तेल शून्य रनमा आउट भए ।
त्यसअघि सिद्धार्थ क्रिकेट रंगशालामामा टस जितेर पहिला ब्याटिङ गरेको गण्डकीले २३ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र ९२ रन बनाएको थियो । गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४८ रनको योगदान गरे ।
उनले ६३ बलको सामना गर्दै ८ चौका प्रहार गरे । रोहित चन्द र सुवास भण्डारीले समान १०/१० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । वंश क्षेत्री, दीपक डुम्रे, सन्दीप पराजुली र कप्तान विपिन खत्री रन नै नबनाई आउट भए । सुदीप अर्याल ७ रनमा नटआउट रहे ।
पुलिसका ललित राजवंशी र गुल्शन झाले कसिलो बलिङ गरेपछि गण्डकी सस्तैमा समेटिएको हो । ललित एक्लैले ५ विकेट लिए । उनले ५.२ ओभर बलिङ गर्दै २ मेडन राख्दै मात्र ७ रन खर्चिए । गुल्सन झाले चार विकेट लिए । झाले ८ ओभरमा एक मेडन राख्दै ४८ रन खर्चिए ।
प्रतियोगितामा अपराजित पुलिस १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा यथावत छ । कमजोर गण्डकी भने २ अंकका साथ तालिकाको पुछारमा रहृयो । गण्डकीले खेलेका ६ मध्ये एकमा जित र पाँचमा हार व्यहारेको छ ।
