प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमको दोस्रो जित

चैत्र ६, २०८१

सन्जु पौडेल

Far West's second victory in Prime Minister's Cup cricket

तिलोत्तमा — सुदूरपश्चिमले रुपन्देहीमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा बुधबार भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ५ विकेटले पराजित गरेको छ ।

लुम्बिनीले दिएको ११७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमको यो दोस्रो जित हो । यसअघि सुदूरपश्चिमले गण्डकी प्रदेशलाई पराजित गरेको थियो । सुदूरका लागि किरण ठगुन्नाले अविजित ४३ रनको योगदान गरे । उनले ४३ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

कप्तान नारायण जोशी २५ रनमा अविजित रहे । प्रकाश पाण्डेले २२ तथा खडक बोहराले ११ रन बनाए । लुम्बिनीका लागि रमेश कुर्मीले २ विकेट लिए । निर्मल गुरुङ, अजय चौहान, विप्रशन केसीले समान एक/एक विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ४४.१ ओभरमा सबै विकेट गुमाउँदै ११६ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले बनाएको ४१ रन नै व्यक्तिगत सर्वाधिक ठूलो स्कोर रहृयो । प्रज्वल थापाले ३० रन बनाउँदा अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । दुई जना खेलाडी शून्य रनमा आउट भए । 

सुदूरपश्चिमका हेमन्त धामीले सर्वाधिक चार विकेट लिए । उनले ९ ओभरमा एक मेडन राख्दै २६ रन खर्चिए । उनी प्लेयर अफ द म्याच घोषित भए । सौर्य श्रेष्ठ, शेर मल्ल र मिलन बोहराले समान २/२ विकेट लिए । श्रेष्ठले १० ओभर बलिङ गर्दै तीन मेडन राख्दै २७ रन खर्चिए । यो नतिजासँगै सुदूरपश्चिम प्रदेश अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । उसको चार अंक भएको छ 

 हारका बाबजुद लुम्बिनी प्रदेश भने तालिकाको तेस्रो स्थानमा रहेको यथावत रहेको छ । लुम्बिनीले ६ खेलबाट चारमा जित र दुईमा हार व्यहोर्दै ८ अंक जोडेको छ । प्रतियोगिता अन्तर्गत बिहीबार सिद्धार्थ क्रिकेट रंगशालामा लुम्बिनी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा बिहान ९ बजे हुने अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ । 

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully