काठमाडौँ — नेपाली फुटबलमा अबको एक साता नयाँ अध्याय लेखिनेछ, जतिबेला प्रशिक्षक म्याट रसको नेतृत्वमा राष्ट्रिय पुरुष टोली मैदानमा उत्रन्छ । नेपालले शुक्रबार सिंगापुरविरुद्ध मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्नेछ । लगत्तै अर्को मंगलबार मलेसियाविरुद्ध एसिया कप छनोटमा प्रतिस्पर्धा गर्नेछ ।
यिनै दुई खेल खेल्ने टिमको मंगलबार औपचारिक रूपमा बिदाइ गरियो । नेपाली मिडियासामु दोस्रोपल्ट प्रस्तुत हुने क्रममा फेरि पनि प्रशिक्षक रसले नेपाली फुटबलको प्रशंसा गर्न बिर्सेनन् ।
मुख्य प्रशिक्षकको जिम्मेवारी पाएयता उनले नेपाली टिमसँग दुई साता जति समय बिताइसकेका छन् । आफ्नो २३ सदस्यीय टोली पनि घोषणा गरिसकेका छन् । यही टोलीलाई लिएर उनको भनाइ रह्यो, ‘म नेपाली खेलाडीको मिहिनेत र व्यावसायिक व्यवहारका लागि खुसी र सन्तुष्ट छुं । सबै खेलाडी प्रतिभाशाली छन् । मलाई त अन्तिम टिम घोषणा गर्न पनि गाह्रो भयो, किनभने मैले केही योग्य अन्य खेलाडीलाई पनि बाहिर राख्नुपर्यो । अहिलेसम्मको तयारी राम्रो भएको छ ।’
सिंगापुरको सामना गर्दा अस्ट्रेलियाली प्रशिक्षक रससामु केही प्रयोगको अवसर हुनेछ । मलेसियाविरुद्ध खेल्दा भने टिमलाई ठोस आकार दिने मौका हुनेछ । यसैलाई लिएर प्रशिक्षक रसले भने, ‘सिंगापुरविरुद्धको खेलमा हामीलाई केही प्रयोगको अवसर हुनेछ, किनभने धेरै खेलाडीलाई मैदानमा उतार्ने अवसर हुनेछ । त्यसपछि हामीले मलेसियाविरुद्धको खेलबारे सोच्ने छौं । हामी सकारात्मक फुटबल खेल्नेछौं । हाम्रो खेल आक्रामक हुनेछ । हामी पछाडि बसेर खेल्ने छैनौं ।’
प्रशिक्षक रसले अहिलेका लागि आफ्नो सम्पूर्ण ध्यान यिनै दुई खेलमा रहेको बताए । ‘अहिलेका लागि मेरो नजर यिनै दुई खेलमा छ, अर्कोतर्फ मेरो ध्यान साफ च्याम्पियनसिप २०२५ मा पनि छ । हामी अहिलेका दुई खेलमै केन्द्रित हुनुपर्छ र यसमा राम्रो प्रदर्शन गर्ने प्रयास गर्नुपर्छ ।’ उनले फेरि एकपल्ट के पनि दोहोर्याए भने नेपाल साफ च्याम्पियनसिप जित्न सक्षम छ र यसकै लागि सबैको प्रयत्न हुनुपर्छ । उनी ‘मिसन साफ च्याम्पियनसिप’ सुरु भइसकेको मान्दैनन् ।
त्यसका लागि आधार भने अहिले नै तयार पार्न चाहन्छन् । उनले दोहोर्याएर के पनि माने भने नेपाली राष्ट्रिय टिम सम्हाल्न पाउनु आफ्ना लागि गर्व हो, सपना पूरा भए जस्तै उपलब्धि हो । आफ्नो नेतृत्वमा नेपालले पहिलोपल्ट खेल्न लागेकामा उनी अलिकति दबाब पनि महसुस गर्छन् । भन्छन्, ‘यो दबाबलाई म आफूमाथि हाबी हुन दिन्न । मैले यसअघि नै भनेको छु । फेरि पनि भन्छु, नेपाली टिम प्रशिक्षकका रूपमा म असाध्यै उत्साही छु ।’
उनले जसरी २३ सदस्यीय टिम छानेका छन्, त्यसले पनि देखाएको छ, केही फरक र राम्रो गर्न चाहन्छन् । गोलरक्षकमा एन्जल श्रेष्ठ, डिफेन्डरमा सुमन श्रेष्ठ र फरवार्डमा सुवास बम ठकुरीलाई उनले मौका दिएका छन् । केही अपेक्षित नाम उनले अन्तिम टिमबाट हटाए । टिममा रेजिन सुब्बा र कृतिशरत्न छुन्जुले पनि पुनरागमन गरेका छन् । मुख्य प्रशिक्षकका लागि एकै वर्षको अनुबन्ध भएता पनि उनी त्यसलाई लम्ब्याउन चाहन्छन्, त्यसैले अबका दुई खेलले उनको भविष्यको आधार तयार हुन सक्नेछ ।
एसिया कपको अहिलेको छनोट समूहमा नेपाल र मलेसियासँगै बलियो भियतनाम र लाओस छन् । प्रशिक्षक रस जत्तिकै खुसी त कप्तान किरण लिम्बू पनि देखिए । उनी भन्छन्, ‘नयाँ प्रशिक्षक आएपछि केही खास–खास परिवर्तन भएको छ । मलाई विश्वास छ, सिंगापुर र मलेसियाविरुद्ध राम्रो प्रदर्शन हुने आस गर्न सकिन्छ । अहिलेको प्रदर्शनले साफ च्याम्पियनसिपका लागि आधार तयार पार्नेछ । हामी सबैको सपना नै हो यो प्रतियोगिता जित्ने ।’
