पाँचौँ मिल्स गोल्डकप : लेटाङ फुटबल क्लब सेमिफाइनलमा 

चैत्र ६, २०८१

कान्तिपुर संवाददाता

5th Mills Gold Cup: Letang Football Club in the semi-finals

विराटनगर — मोरङको लेटाङ फुटबल क्लब पाँचौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ ।  विराटनगरको जुट मिल खेल मैदानमा बुधबार भएको क्वार्टरफाइनल खेलमा आयोजक लालिगुँरास स्पोर्टिङ क्लब रानी मिल्स एरियालाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै लेटाङले  सेमिफाइलनमा स्थान सुरक्षित गरेको हो । 

निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो ।  टाइब्रेकरमा लेटाङका पुजन चौधरी, तेजन गुरुङ, सौगात राई र सुजन तिलवाले गोल गरे । आयोजकका विवेक राई र कैलाश बस्नेतले गरेको प्रहारलाई लेटाङका गोल क्षक पूर्ण चेम्जोङले उत्कृष्ट बचाउ गर्दै टोलीलाई जित दिलाए । टाइब्रेकरमा दुई गोल बचाएका पूर्ण चेम्जोङलाई उत्कृष्ट खेलाडी घोषित गरिएको थियो । 

लेटाङका तर्फबाट टाइब्रेकरमा आशिष लावती र रमेश चौधरीले मात्रै गोल गरे । यो जितसँगै लेटाङले शुक्रबार दोस्रो सेमिफाइलनमा घरेलु टोली पेमा युवा स्पोर्टिङ क्लबसँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ ।

5th Mills Gold Cup: Letang Football Club in the semi-finalsयसअघि मंगलबार, भारत बिहारको वाईएससी खोखाझील कटिहारलाई ४–० गोलले पराजित गर्दै सुनसरी इटहरीको टीएफसी तालतलैया सेमिफाइलनमा पुगेको थियो । त्यस्तै फ्युजन फुटबल क्लब उदयपुरले सप्तरीको प्रोगेसिभ युवा क्लबलाई १-० गोलले हराएर सेमिफाइलनमा स्थान बनाएको थियो ।  पेमा स्पोर्टिङ क्लबले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो । 

क्वार्टरफाइलनको खेल अत्यन्त प्रतिस्पर्धात्मक रहेको थियो। खेलको ४ औं मिनेटमा आयोजक टिमले अग्रता लिएको थियो। भुवन बस्नेतले चलाखीपूर्ण ढंगले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाए। आयोजकको अग्रता धेरै समय कायम रहन सकेन र १३ मिनेट पछि लेटाङले गोल गर्दै खेल बराबरीमा ल्यायो । खेलको १६ औं मिनेटमा लेटाङका अनोप मगरको पासलाई सागर तिवारीले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि दुवै टिमले गोल गर्ने थुप्रै अवसरहरू गुमाए, जसपछि खेल टाइब्रेकरमा गए र लेटाङले विजय हासिल गर्‍यो । 

बिहीबारको पहिलो सेमिफाइलन खेलमा गाइघाटको फ्युजन फुटबल क्लब र इटहरीको टीएफसी तालतलैयाबीच भिडन्त हुने आयोजकको भनाइ छ । 

कान्तिपुर संवाददाता

Link copied successfully