काठमाडौँ — नेपाली खेलाडी सुमित्रा नगरकोटीले २० औं डब्लूएमएफ विश्व मुवाँथाई च्याम्पियनसिपमा रजत पदक जितेकी छन् । थाइल्यानडको बैंककमा भएको प्रतियोगितामा सुमित्राले रजत र परिका बतासले कांस्य जितेका हुन् ।
महिला ५७ केजीमा सुमित्राले इटालीकी मिचेला पिन्नालाई पराजित गरी सेमिफाइनलमा पुगेकी थिइन् । फाइनलमा ब्राजिककी क्यामिला मोस्म्यानसँग पराजित भएपछि सुमित्रा रजतमा सीमित भइन् । सुमित्रा भारतमा गत वर्ष भएको इन्डो–नेपाल प्रोफेसनल फाइटकी स्वर्ण विजेता हुन् ।
महिला ४८ केजीको सेमिफाइनलमा क्याथ्रिन स्टेभेन्ससँग पराजित हुँदै परिकाले कांस्यमै चित्त बुझाइन् । परिकाले विश्व मुवाँथाईको १९ औं संस्करणमा स्वर्ण जितेकी थिइन् ।
नेपाल राष्ट्रिय मुवााथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिका अनुसार नेपालबाट ६ खेलाडी सहभागी भएकामा अकेश केसी, मिलन तामाङ, गुमन घर्तीमगर र आशिष तामाङ पदकविहीन बने । प्रशिक्षकमा राहुल मोक्तान रहे । सञ्जय राईले निर्णायकको भूमिका निर्वाह गरेका थिए । मार्च ९ देखि १८ तारिख भएको प्रतियोगितामा ३२ राष्ट्रका ३ सय ५२ खेलाडीले प्रतिस्पर्धा गरेको संघले जनाएको छ ।
