काठमाडौँ — नेपाली चेस खेलाडी पुरुषोत्तम सिलवाल श्रीलंकामा सम्पन्न अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामार्फत फिडे क्यान्डिडेट मास्टर भएका छन् । आफ्नै खर्चमा श्रीलंका पुगेका १७ वर्षीय पुरुषोत्तमले उच्चस्तरीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ९ चरणको प्रतिस्पर्धामार्फत ४.५ अंक जोडेर सीएम उपाधि पाएका हुन् ।
विश्व चेस फेडेरेसन (फिडे) र एसियन चेस फेडेरेसन (एसीएफ) को तत्वावधान एवं श्रीलंका चेस फेडेरेशनको आयोजनामा सम्पन्न एसियन जोनल ३.२ चेस प्रतियोगितामा मध्यमस्तरको खेल पस्केका छन् ।
आयोजक श्रीलंकासहित नेपाल, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र भुटानका खेलाडीबीच प्रतिस्पर्धा भएको एसियन जोनल ३.२ जोनल कोलम्बोमा भएको हो । नेपाल बुद्धिचाल महासंघले सोही प्रतियोगितामा २५ औं नेपाल च्याम्पियन र १० औं महिला नेपाल च्याम्पियनको हैसियतमा एफएम रुपेश जैसवाल र सिन्दिरा जोशीलाई सहभागी गराएको थियो । फिडे मास्टर रुपेशले ५ अंक जोडे भने महिला च्याम्पियन सिन्दिराले ३.५ अंकमात्र जोडेकी थिइन् ।
बंगलादेशका २४३१ रेटेड अन्तर्राष्ट्रिय मास्टर (आईएम) मनुन रेजा निरले ७ अंक जोड्दै उपाधि जितेका थिए । महिलातर्फ बंगलादेशका २०९७ रेटेड अहमद वादिफाले ७ अंक जोड्दै पहिलो स्थान हासिल गरिन् । उनले आईएम टाइटल पनि पाउन सफल भइन् । पुरुषतर्फ क्रमशः १५ सय र महिला विजेताले १ हजार डलर पुरस्कार पाइन् । अर्को विधा ब्लिट्ज चेसमा नेपालका २१५९ रेटेट एफएम रुपेश जैसवालले ५.५ अंक जोडेर चौथो र २१३५ रेटेड युवा पुरुषोत्तम सिलवालले ५ अंक जोडेर छैटौं स्थान हासिल गरे ।
