प्रधानमन्त्री कप क्रिकेट : बाग्मती र कर्णाली विजयी

चैत्र ५, २०८१

सन्जु पौडेल

Prime Minister's Cup Cricket: Bagmati and Karnali win

तिलोत्तमा — रुपन्देहीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बाग्मती र कर्णाली विजयी भएका छन् । 

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा मंगलबार भएको खेलमा बाग्मतीले गण्डकीलाई ६९ रन र कर्णालीले कोशीलाई १ सय २७ रनले पराजित गरेका हुन् । 

बाग्मतीले दिएको २८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा अलआउट हुँदै २१९ रनमा समेटियो । गण्डकीका लागि भान्स क्षेत्रीले ५५ रनको अर्धशतकीय इनिङ खेले । समीर कँडेल २६, अमृत गुरुङले २० रन बनाएर आउट भए । दीपक डुम्रे र कमल परियारले समान १९/१९ रनको योगदान गरे भने सुवास भण्डारीले अविजित १८ रन बनाए । 

बलिङमा बाग्मतीका इशान पाण्डेले ४ विकेट लिए । उनले ६ ओभर बलिङ गर्दै २७ रन खर्चिए । साकार गजुरेलले २ तथा रिजन ढकाल, गौतम केसी र सूर्य तामाङले समान १/१ विकेट हात पारे । 

टस हारेर पहिला ब्याटिङ गरेको बाग्मतीले निर्धारित ओभरमा ८ विकेट गुमाएर २८८ रन बनाएको थियो । बाग्मतीका लागि इसान पाण्डेले ६९ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ८२ बलमा ४ चौका प्रहार गरे । विपिन आचार्यले अविजित ६३ रनको योगदान गरे । आचार्यले ४२ बलको सामना गर्दै ७ चौका र २ छक्का प्रहार गरे । 

यस्तै, शुभ कंसाकारले ५१ बलमा ९ चौकाको मद्दतमा ५२ रन बनाए । विवेक मगरले ३४ रन बनाए भने रिजन ढकालले नटआउट २३ रन जोडे । ओपनर आसुतोष घिरैयाले १४ रन बनाउँदा कप्तान पृथु बास्कोटा १६ रनमा आउट भए । 

बलिङमा गण्डकीका लागि अर्जुन कुमाल एक्लैले ४ विकेट लिए । उनले ७ ओभरमा १ मेडन राख्दै ४० रन खर्चिए । विपिन खत्री र सुवास भण्डारीले समान २–२ विकेट लिए । यो नतिजापश्चात् बाग्मती अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ । उसले पाँचमध्ये तीनमा हार र दुई खेलमा विजयी हुँदै चार अंक जोडेको हो । हारसँगै गण्डकी प्रदेश भने तालिकाको आठौं स्थानमा झरेको छ । पाँचमध्ये एकमा जित र चार खेलमा हार व्यहोरेको गण्डकीको मात्र २ अंक छ । 

यस्तै तिलोत्तमास्थित एक्सट्राटेक ओभल मैदानमा मंगलबार भएको खेलमा कर्णालीले कोशीलाई १२७ रनले पराजित गरेको हो । जितका लागि कर्णालीले दिएको २१९ रनको लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा सबै विकेट गुमाउँदै ९१ रनमा समेटियो । कोशीका लागि चिराग साहले सर्वाधिक २५ बनाए । शाकिब हक १३ र कप्तान अंकित सुवेदीले १० रनमा बनाउनुबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कोशीलाई सस्तैमा समेट्न कर्णालीका सुनिल धमला र दिपेन्द्र रावतले समान ३–३ विकेट लिए । धमलाले १० ओभरमा ३ मेडन राख्दै मात्र १४ रन खर्चिए । दिवान पुनले २ विकेट हात पार्दा अनुज चनाराको नाममा १ विकेट रहृयो । 

पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै २१८ रनको योगफल तयार पारेको थियो । कर्णालीका लागि अर्जुन घर्तीले अविजित ८८ रनको योगदान गरे । उनले ९५ बलमा ११ चौका र २ छक्का प्रहार गरे । उनी प्लेयर अफ दी म्याच घोषित भए । हिमान्सु शाहीले ४६ रन बनाउँदा निश्चल रावल २० रनमा पभेलियन फर्किए । 

यस्तै, प्रकाश जैशीले १८, सुनिल धमलाले १३ र विपिन रावलले १० रनको योगदान दिए । बलिङतर्फ कोशीका लागि विपिन महतोले ३ विकेट लिए । दीपेश कँडेल र प्रकाश कार्कीले समान २/२ विकेट हात पारे । श्रवण किस्कु भने महँगो सावित भए । उनले ६ ओभरमा मात्र एक विकेट लिँदै ४५ रन खर्चिए । सुजन थपलियाको नाममा एक विकेट रहृयो । 

यो नतिजासँगै कर्णाली अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । उसको ५ खेलबाट ४ अंक भएको छ । लगातार पाँचौं हार व्यहारेको कोशी प्रदेश भने तालिकाको पुछारमा रहेको छ । कोशीको मात्र २ अंक छ । 

प्रतियोगिताअन्तर्गत बुधबार भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा विभागीय टोली नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । अर्को खेलमा एक्सट्राटेक ओभल मैदानमा सुदूरपश्चिम र लुम्बिनी प्रदेश भिड्ने छन् ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully