पोखरा — विभागीय टिम त्रिभुवन आर्मी क्लबले पहिलो पोखरा कम राष्ट्रिय पुरुष ह्यान्डबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा मंगलबार घरेलु टोली गण्डकी प्रदेशको टिमलाई फाइनलमा ३७–३२ ले हराउँदै आर्मी च्याम्पियन बनेको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको फाइनलमा गण्डकीले अग्रता जोगाउन नसक्दा हार ब्यहोर्नुपर्यो । गण्डकीले २७–२५ को अग्रतामा रहेको अवस्थामा लय गुमाउँदा आर्मीले रक्षा पंक्तिलाई बलियो बनाएपछि विजेता बन्न सफल भयो । आर्मीका लागि निर्मलबाबू श्रेष्ठले सर्वाधिक १६ गोलको योगदान दिए । उपाधिसँगै आर्मीले एक लाख रुपैयाँ हात पारेको छ । उपविजेता गण्डकीले ५० हजार रुपैयाँ प्राप्त गर्यो । एपीएफ क्लब तेस्रो हुँदै ३० हजार रुपैयाँ प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका निर्मलबाबु श्रेष्ठ घोषित भए । उत्कृष्ट गोलरक्षक गण्डकीका विशाल नेपाली घोषित भए । प्रतियोगितामा एपीएफका दीपेन्द्र बुढाथोकी उच्च गोलकर्ता बने । उनले प्रतियोगिता अवधिभर कुल ५३ गोल गरे । विधागत उत्कृष्ट तीन खेलाडीले समान पाँच–पाँच हजार रुपैयाँ प्राप्त गरे । विजेता टिम र खेलाडीलाई गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले पुरस्कार हस्तान्तरण गरे ।
मंगलबार नै फाइनल अघि सेमिफाइनल तथा तेस्रो स्थानका खेल भएका थिए । पहिलो सेमिफाइनलमा गण्डकीले एपीएफलाई ४०–३३ र आर्मीले कोशीलाई ५५–३२ ले हराउँदै फाइनल प्रवेश गरेका थिए । तेस्रो स्थानको खेलमा एपीएफले कोशीलाई ५५–२३ ले हराएको थियो । आइतबारदेखि सुरु भएको प्रतियोगितामा आयोजक गण्डकी प्रदेश ह्यान्डबल संघको टिमसहित कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब सहभागी थिए ।
