दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

चैत्र ५, २०८१

कान्तिपुर संवाददाता

Logo and mascot of the 10th National Games unveiled

काठमाडौँ — कर्णाली प्रदेशमा जेठमा हुने दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पुनः सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० सम्मका लागि मिति तय गरिएको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लोगो र राखेपका उपाध्यक्ष ध्रुव आचार्यले मस्कट सार्वजनिक गरेका हुन् ।

मंसिरमा हुने मिति तय हुँदा १०० दिनको काउन्टडाउनका अवसरमा कर्णाली प्रदेशमै पनि उक्त लोगो र मस्कट सार्वजनिक गरिएको थियो । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले दसौं राष्ट्रिय खेलकुदको डेकिकेटेड वेभसाइट सार्वजनिक गरे । राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियललगायतको अनलाइन दर्ता कसरी गर्ने भन्ने विषयमा जानकारी दिन खेलाडी अनलाइन दर्ता सफ्टवेयर भिडियो प्रदर्शन गरिएको थियो । राष्ट्रिय खेलकुदको लोगो र मस्कटलगायत विषयवस्तु समेटेर तयार पारिएको एनिमेटेड भिडियो पनि प्रदर्शन गरियो ।

लोगोमा कर्णाली नदी, नेपालको झण्डा, सात प्रदेश र खेलाडी, हिमाल, पहाड र तराई तथा शान्तिको प्रतीक परेवा समेटिएको छ । कर्णाली प्रदेशमा पाइने दुर्लभ जनवार हाब्रे (रेड पाण्डा) लाई मस्कटमा प्रयोग गरिएको छ । लोगो र मस्कट विकास तमखुले तयार गरेका हुन् ।

मन्त्री चौधरीले राष्ट्रिय खेलकुदलक्षित गरी तयार गरेको उत्कृष्ट पूर्वाधारका लागि कर्णाली प्रदेशलाई धन्यवाद दिएका छन् । उनले राष्ट्रिय खेल संघलाई खेलाडी र खेलको हितलाई केन्द्र विन्दुमा राखेर काम गर्न आग्रह गर्दै खेलाडीको प्रतिभा देखाउने चाहना मध्यनजर गरी राष्ट्रिय खेलकुद भव्य बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

उपाध्यक्ष आचार्यले राष्ट्रिय खेलकुद प्रतिभा खोजीको माध्यम भएको बताए । सदस्य–सचिव घिसिङले राष्ट्रिय खेलकुदमा भाग खेलाडी उत्साहित रहेकाले खेलाडीले खेल्न पाउने वातावरण बनाउन सम्पूर्ण सरोकारवाला एक ढिक्का हुनुपर्नेमा जोड दिए ।

कान्तिपुर

Link copied successfully