ह्विलचेयर बास्केटबलमा जावलाखेल र आर्मी च्याम्पियन

चैत्र ५, २०८१

कान्तिपुर संवाददाता

Jawalakhel and Army champion in wheelchair basketball

काठमाडौँ — जावलाखेल ह्विलचेयर स्पोर्ट्स क्लब (जीडब्लूएससी) र त्रिभुवन आर्मी क्लबले मंगलबार उपत्यका क्लबस्तरीय ह्विलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । 

नेपाल स्पाइनल कर्ड एन्ड इन्ज्युरी खेलकुद संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न फाइनलमा महिलातर्फ जावलाखेल र पुरुषतर्फ आर्मी च्याम्पियन बनेको हो । दुवै टोलीले समान ५० हजार रुपैयाँ जित्यो ।  

जावलाखेलले ह्विलचेयर स्पोर्ट्स एसोसिएसनलाई २४–२३ स्कोरले हरायो । जावलाखेललाई च्याम्पियन बनाउन रजनी राईले सर्वाधिक १४ स्कोर जोडिन् । उनी सर्वाधिक स्कोरकर्ता घोषित भएर तीन हजार जितिन् ।

पुरुषतर्फ विभागीय ‘डर्बी’ मा एपिएफलाई आर्मीले ४३–४१ को स्कोरमा हराएर आर्मी च्याम्पियन बन्यो । निकै रोमाञ्चक फाइनलमा निर्धारित खेल ३९–३९ को बराबरी सकियो । तीन मिनेटको अतिरिक्त समयमा आर्मीले ४ र एपिएफले २ स्कोर जोड्यो । आर्मी समग्रमा ४३ अंकसहित विजयी भयो । आर्मीका रमेश खत्रीले सर्वाधिक १९ स्कोर जोडे । उनले ३ हजार पाए ।

महिलातर्फ जावलाखेलकी तुलसा मगर सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । पुरुषतर्फ कप्तान राम तामाङ सर्वोत्कृष्ट भए । दुवै खेलाडीले ३ हजार पाए ।

विजेता टोलीलाई राखेपका उपाध्यक्ष ध्रुव आचार्य, नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, एनएससीआईएसएका अध्यक्ष देवी आचार्यलगायतले पुरस्कार प्रदान गरे ।     

कान्तिपुर

Link copied successfully