झापा — भारतीय टिम पेनोरिस ११ ले सोमबार इन्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मेचीनगर–४ बाहुनडाँगीस्थित सरस्वती माविको मैदानमा भएको फाइनलमा पेनोरिसले थण्डर्स ११ लाई ७ विकेटले हरायो ।
टस जितेको थन्डर्सले २० ओभरमा ९ विकेट गुमाई ९१ रनमात्र बनायो । रोहित राजवंशीले १९, आयुष न्यौपानेले १४ र आशिक राना मगरले १३ रन बनाए । पेनोरिसका राकेश रोय, सुनिल घोष, बोनोमली रोय र आचरल प्रधानले २–२ विकेट लिए । ९२ रनको सामान्य लक्ष्य पेनोरिस ले ९.५ ओभरमा ३ विकेटमा पूरा गर्यो । ओपनरद्वय शुभांकर देवनाथ र कञ्चन उप्रेतीले अर्धशतक बनाए ।
शुभांकर ५२ रन र कञ्चनले १५ रन जोडे । थन्डर्सका शिव राजवंशीले २ र विराट डाँगीले १ विकेट लिए । म्यान अफ द म्याच शुभांकर भए । विजेताले ५० हजार र उपविजेताले ३० हजार पुरस्कार पाए । ७ विकेट लिनुका साथै ७८ रन बनाएका थन्डर्सका रोहित राजवंशी म्यान अफ द सिरिज भए । उनले ५ हजार पाए । बाहुनडाँगी युवा क्लबले क्रिकेट एकेडेमी निर्माणका लागि प्रतियोगिता आयोजना गरेको हो ।
