विराटनगर — सुनसरी इटहरीको टीएफसी तालतलैया पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार विराटनगरको जुटमिल खेल मैदानमा आयोजित खेलमा टीएफसीले पाहुना टोली बिहारको वाइएससी खोखाझिल कटिहारलाई ४–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
टीएफसीका लागि सनिस लिम्बु, करण सुनवार, निश्चल लामा र निवस फुयाँलले गोल गर्दै टिमलाई अन्तिम चारमा पुर्याउन सफल भएका हुन् ।
टीएफसीले कटिहारलाई सम्पूर्ण खेलभर दबाबमा राखेको थियो । खेलको ३७ औं मिनेटमा टीएफसीका सनिस लिम्बुले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफको समाप्तिपछि १–० को अग्रता लिएर टीएफसीले दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गर्यो । ७४ औं मिनेटमा करण सुनवारले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
तीन मिनेटपछि निश्चल लामाले ७७ औं मिनेटमा गोल गर्दै अग्रता अझै बढाए र खेलको अतिरिक्त समयमा निवस फुयाँलले गोल गर्दै टिमको जित पक्का गरे ।
टीएफसीले बिहीबार पहिलो सेमिफाइनलमा उदयपुरको फ्युजन फुटबल क्लब गाईघाटसँग प्रतिस्पर्धा गर्नेछ ।
टीएफसीका कप्तान सविन घिमिरे खेलको प्लेयर अफ म्याच भए । उनले नगद २ हजार १ सय पुरस्कार पाए । बुधबारको खेल आयोजक लालीगुराँस स्पोर्टिङ क्लब रानी र लेटाङ फुटबल क्लब मोरङबीच हुनेछ ।
