प्रधानमन्त्री कप : पुलिसले दियो सुदूरपश्चिमलाई १६१ रनको लक्ष्य

चैत्र ४, २०८१

सन्जु पौडेल

Prime Minister's Cup: Police gave Sudurpaschim a target of 161 runs

तिलोत्तमा — विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई १६१ रनको लक्ष्य दिएको छ ।

सोमबार भैरहवास्थित सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको पुलिस ४७ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६० रनमा समेटियो । 

पुलिसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४२ रनको योगदान गरे । ऐरीले ४७ बलमा ५ चौका प्रहार गरे । आरिफ शेखले ४०, दिलिप नाथले १९, अमित श्रेष्ठले १८ र सागर ढकालले २२ रन बनाए । 

ओपनर अर्जुन साउदले २ रन र गुल्सन झाले एक रन बनाउँदा कुशल भुर्तेल रननै नबनाई आउट भए । अन्तिममा मैदान छिरेका ललित राजवंशीले ४ रनको योगदान गरे । 

बलिङमा सुदूरपश्चिमका सौर्य श्रेष्ठ एक्लैले चार विकेट लिए । उनले १० ओभरमा एक मेडन राख्दै ४३ रन खर्चिए । भोजराज भट्टले ३ तथा शेर मल्लले २ विकेट लिँदा हेमन्त धामीले एक विकेट हात पारे । 

अपराजित पुलिस अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । यसअघिका चारै खेलमा जित हासिल गर्दै पुलिसले ८ अंक जोडेको छ । यसअघिका चार मध्ये एकमा जित र तीन खेलमा पराजय भोगेको सुदूरपश्चिम २ अंकका साथ तालिकाको पुछारमा रहेको छ । प्रतियोगितामा तीन विभागीय टिम त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस क्लबसहित सात प्रदेशका टिम सहभागी छन् ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully