दाङ — लमहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत आइतबार लुम्बिनी प्रदेश र मधेश प्रदेश टिम भिड्दैछन् ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज दुई प्रदेश टिम बीच खेल भैरहेको छ । मधेश प्रदेशले टस जितेर बलिङ सुरु गरेको छ । दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अंक तालिकाको चौथो स्थानमा रहेको लुम्बिनी र पाँचौं स्थानमा रहेको मधेश प्रदेशबीच हुने खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
जारी प्रतियोगितामा सात प्रदेश टिममा बलियो देखिएका लुम्बिनी र मधेश प्रदेश टिम जितको रणनीतिसहित मैदानमा उत्रिदैछन् ।
अहिलेसम्म ४ खेल खेलिसकेको लुम्बिनीले ३ खेलमा जित र १ मा हार व्यहोर्दै ६ अंकका साथ अंक तालिकाको चौथो स्थानमा रहँदा ३ खेल खेलिसकेको मधेश प्रदेश १ खेलमा जित र दुईमा हार व्यहोर्दै २ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा छ ।
लुम्बिनीले यसअघि कोशी प्रदेशलाई २६ रनले हराएको थियो । नेपाल पुलिस क्लबसँग ८७ रनले हारेको लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रन र वाग्मती प्रदेशलाई ४८ रनले हराएको छ ।
यसैगरी, मधेश प्रदेशले कोशी प्रदेशलाई १६५ रनले हराएको थियो । विभागीय टिम एपिएफ क्लबसँग २ विकेट र नेपाल पुलिस क्लबसँग १९३ रनले हारेको छ ।
आजको खेलमा जित निकाल्दै लुम्बिनी प्रदेश अंक तालिकाको उत्कृष्ट चारमा यथावत रहन चाहन्छ भने मधेश प्रदेशले हारको श्रृङ्खला तोड्दै लुम्बिनीलाई उस्कै घरेलु मैदानमा हराएर अंक तालिकामा सुधार ल्याउन चाहन्छ ।
लुम्बिनी प्रदेशको कप्तानी १९ वर्षमुनिको राष्ट्रिय टिमको कप्तान भइसकेका देव खनालले सम्हालेका छन् भने मधेश प्रदेशको कप्तानी राष्ट्रिय टोलीका भरपर्दा ब्याटर तथा गत संस्करणको पिएम कपबाट कमब्याक गरेका अनुभवी खेलाडी अनिलकुमार साहले सम्हालेका छन् ।
युवा खेलाडीले भरिएको लुम्बिनीमा कप्तान खनालसँगै कृष्ण कार्की, सुशान्त थापा, मृनाल गुरुङ, अजय चौहान, आकाश त्रिपाठी, विकेट किपर प्रज्वल थापा, निर्मल गुरुङ, नर सार्की, रमेश कुर्मी, वीर मगरलगायत खेलाडी छन् ।
मधेश प्रदेशमा कप्तान साहसँगै दीपेश दास, रुपेश सिंह, विशाल पटेल, हरिशंकर शाह, रोशन विक, पवन सर्राफ, निखिल सिंह, कमल गुप्तालगायत खेलाडी छन् ।
नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगिता हेर्न दर्शकहरुका लागि भिआईपी टिकट शुल्क २ सय रुपैयाँ रहेको र अरु टिकटको हकमा नि:शुल्क प्रवेश गरिएको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष तथा क्यान केन्द्रीय सदस्य प्रदीप मजगैँयाले जानकारी दिए ।
३ विभागीय टिम आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टिमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् ।
तीन खेल मैदानमा भइरहेको प्रतियोगिता अन्तर्गत रुपन्देहीको सिद्धार्थ रंगशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १४ वटा गरि ४६ वटा खेल भईरहेका छन् । जसमा आइतबारसम्म २० वटा खेल भइसकेका छन् ।
