तिलोत्तमा — विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई १४२ रनको लक्ष्य दिएको छ ।
सोमबार रुपन्देहीको तिलोत्तमास्थित एक्सट्राटेक ओभर मैदानमा आर्मीले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङमा आएको एपीएफले ४२ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १४१ रनको योगफल तयार पारेको हो ।
एपीएफका लागि सन्दीप जोराले ६५ रनको अर्धशतकीय इनिङ खेले । जोराले ९१ बलमा ९ चौका प्रहार गरे । अमर राउटेला र भुवन कार्कीले समान ११/११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर लोकेश बम ४, आशिफ शेख ६ र कप्तान रोहित पौडेल ४ रनमा आउट भए । किशोर महतोले ११ रन जोडे ।
बलिङमा आर्मीका लागि आकाश चन्द एक्लैले चार विकेट लिए । चन्दले १० ओभर बलिङमा गर्दै ३५ रन खर्चिए । सोमपाल कामीले ३ र शहाब आलमले २ विकेट हात पार्दा बसिर अहमदको नाममा एक विकेट रहृयो ।
विभागीय डर्बीमा एपीएफ र आमीबीच रोमाञ्चक प्रतिस्पधाई भइरहेको छ । जारी प्रतियोगितामा आर्मी अपराजित छ । यसअघिका चार खेलमा विजय हुँदै आर्मी ८ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । एपीएफ चारमध्ये तीनमा जित र एक खेलमा पराजित हुँदै ६ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ । प्रतियोगितामा तीन विभागीय टिम त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस क्लबसहित सात प्रदेशका टिम सहभागी छन् ।
लुम्बिनी प्रदेशको रुपन्देहीस्थित सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदान तथा दाङको देउदुरीस्थित मैदानमा गत फागुन २५ गतेदेखि एकसाथ सुरु भएको प्रतियोगिताका खेलहरु सिंगल राउन्ड रोबिनका आधारमा भइरहेका छन् ।
लिग चरणको खेलपछि शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा फाइनलसहित १७ खेल हुनेछ भने तिलोत्तमा नगरपालिकास्थित एक्सट्राटेक ओभल मैदानमा १५ तथा दाङको लमहीमा १४ खेल हुनेछ ।
