पोखरा कप पुरुष ह्यान्डबल : आर्मी र गण्डकी शीर्ष स्थानमा

चैत्र ४, २०८१

दीपक परियार

Pokhara Cup Men's Handball: Army and Gandaki at the top

पोखरा — विभागीय टिम त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश पहिलो पोखरा कप राष्ट्रिय पुरूष ह्यान्डबल प्रतियोगितामा समूहतर्फ शीर्ष स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेका छन् । लिग चरणको खेलमा गण्डकी समूह ‘ए’ र आर्मी समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएका हुन् । 

पोखरा रंगशालामा जारी प्रतियोगितामा सोमबार लिग चरणका खेल सकिएका छन् । सोमबार समूह ‘बी’ तर्फ भएको विभागीय डर्बीमा त्रिभुवन आर्मीले जित हासिल गरेको छ । आर्मीले अर्को विभागीय टोली एपीएफलाई १९–१४ को अन्तरले पाखा लगायो । आर्मीको जितमा आकाश अधिकारीले सर्वाधिक ५ गोल गरे ।

सोमबार नै आर्मीले लुम्बिनीलाई ३७–२१ ले हराएर कुल ६ अंकका साथ शीर्षस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । आर्मीका सुरेश महतोले सर्वाधिक ९ गोल गरे । उक्त समूहबाट एपीएफ उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफले आइतबार लुम्बिनी प्रदेशलाई हराएको थियो । एपीएफको ३ अंक रहँदा लुम्बिनी अंकविहीन बन्दै बाहिरियो । 

समूह ‘ए’ तर्फ कोशी र कर्णाली प्रदेशले एक–एक अंक बाँडेका छन् । खेल २०–२० गोलको बराबरीमा रोकिएपछि अंक बाडेका हुन् । अर्को खेलमा कर्णालीले सुदूरपश्चिमलाई ३७–२७ गोलले पराजित गर्‍यो । कर्णालीको जितमा महेश थापाले ११ गोल गरे । समूह ‘ए’ बाट गण्डकी शीर्षस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा गण्डकीले कोशीलाई ३७–२५ ले हराए पनि कोशीले सेमिफाइनलमा स्थान बनाएको छ । तीन खेल खेलेको गण्डकी विजेता बन्दै कुल ९ अंक जोडेको छ । 

उक्त समूहबाट कोशी र कर्णालीको समान चार/चार अंक रहे पनि गोलअन्तरको आधारमा कोशी अन्तिम चारमा प्रवेश गरेको हो । कोशीले कर्णाली भन्दा ३ गोल कम खाएको थियो । अब सेमिफाइनलमा मंगलबार घरेलु टोली गण्डकीले एपीएफको सामना गर्नेछ भने आर्मी कोशीसँग खेल्ने छ । प्रतियोगिताको फाइनल पनि मंगलबार नै हुनेछ । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully