क्षितिज र नीता यलम्बर ब्याडमिन्टन च्याम्पियन  

चैत्र ४, २०८१

कान्तिपुर संवाददाता

Kshitij and Neeta Yalambar badminton champions

काठमाडौँ — काठमाडौं (कास)– एपीएफ क्लबका क्षितिज खनाल र नेपाल पुलिस क्लबकी नीता लम्सालले तेस्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । पुरुष एकलतर्फ क्षितिज र महिला एकलतर्फ नीता विजेता बने ।

नखिपोट युथ क्लबको आयोजना र नखिपोट ब्याडमिन्टन सर्कलको सहआयोजनामा सोमबार भएको फाइनलमा क्षितिजले आर्मीका विवेक चौधरीलाई २१–८, २१–१५ को सोझो सेटमा पराजित गरे । धादिङका सुजन थापा र एपीएफका भोजबहादुर गुरुङ तेस्रो भए ।

नखिपोट कभर्डहलमा भएको महिला फाइनलमा नीताले आर्मीकी अनुमाया राईलाई २१–१२, २१–१३ ले हराइन् । आर्मीकी सेष्ना सिर्पाली र स्पोर्ट्स हबकी सीताकुमारी राई तेस्रो बने । पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र समान ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरे ।

पुलिसका कविर केसीले यू–१७ पुरुष सिंगल्सको स्वर्ण जिते । उनले फाइनलमा आर्मीका सुविन श्रेष्ठलाई २१–१०, १६–२१, २१–११ को सेटमा हराए । फिटनेस पार्कका अमन डंगोल र लभ बीएका इमा तामाङ तेस्रो भए । पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५–५ हजार पुरस्कार हात पारे ।

मिक्स डबल्समा एपीएफका क्षितिजले शोभा गौचनसँग अर्को उपाधि जिते । उक्त जोडीले फाइनलमा पुलिसका जीवन आचार्य र नीताको जोडीलाई २१–१२, २१–५ को सोझो सेटमा हराए । आर्मीका पविन लिङथेप र अनुमाया राई तथा आर्मीका विधान अधिकारी र अमिता गिरीको जोडीले तेस्रो स्थानमा चित्त बुझाए । विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रोले समान ७ हजार ५ सय पुरस्कार पाए । 

Kshitij and Neeta Yalambar badminton championsपीएफसीका सञ्जय कपाली र अनिल थाम्सुहाङको जोडीले भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा उपाधि जिते । उनीहरूको जोडीले फाइनलमा तनहुँका देव गुरुङ र कास्कीका शम्भुकुमार श्रेष्ठको जोडीमाथि २२–२०, २१–१७ को जित पायो । बालकुमारी रिमिक्स क्लबका शान्त डंगोल र कृष्ण श्रेष्ठ तथा चन्द्रागिरिका हरि खत्री र राजकुमार पोखरेलको जोडी तेस्रो भए । पहिलोले ३५ हजार, दोस्रोले २० हजार र तेस्रोले समान १० हजार पुरस्कार प्राप्त गरे ।

पुरुष डबल्समा आर्मीका पविन लिङ्थेप र विधान अधिकारीको जोडीले फाइनलमा सूर्यदर्शनका दीपक राणा र जनिश थकालीको जोडीलाई २१–१६, २२–२०, २१–१४ ले हराएर उपाधि जित्यो । धादिङका राम मल्ल ठकुरी र सुजन थापा तथा बालकुमारी रिमिक्सका सुमित महर्जन र सुमन शाक्यको जोडी तेस्रो भए । पहिलोले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १०–१० हजार पाए ।

विजेतालाई ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महतलगायतले पुरस्कृत गरे । गायक राजेशपायल राईलाई आयोजक क्लबका अध्यक्ष जंगबहादुर सुनुवार र कोषाध्यक्ष सुजन राईले सम्मान गरेका थिए । आयोजकले उद्घाटनमा राष्ट्रिय महिला फुटबल टोलीकी प्रीति राईलाई सम्मान गरेको थियो ।

कान्तिपुर

Link copied successfully