‘होल इन वान’ गर्ने बीवाईडी एट्टो थ्री जित्ने
काठमाडौँ — गोकर्ण फरेस्ट गल्फ कोर्समा यही चैत २३ गते आठौं बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा यस वर्ष करिब १ सय २० कर्पोरेट गल्फरले प्रतिस्पर्धा गर्नेछन् ।
१८ होलमा स्टेबल फोर्ट फर्म्याटका आधारमा हुने प्रतियोगितामा भारत, अमेरिका, चीन, सिंगापुर, श्रीलंकाका गल्फरले पनि सहभागिता जनाउने आयोजक बाह्रखरी मिडिया प्रालिले जनाएको छ । साथै नेपालस्थित विदेशी नियोगका प्रतिनिधिको पनि प्रतियोगितामा सहभागिता रहनेछ ।
कर्पोरेट क्षेत्रका गल्फरबीच हुने प्रतियोगिता देशकै प्रतिष्ठित गल्फ प्रतियोगिता भएको आयोजकको दाबी छ । ‘अल–राउन्ड’ विजेताले २४ क्यारेट सुनको गल्फ बल तथा अन्य पुरस्कारहरू प्राप्त गर्नेछन् । अन्य विभिन्न विधाका विजेताले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । कुनै प्रतियोगीले तोकिएको होलमा ‘होल इन–वान’ गरे बीवाईडीको ‘एट्टो थ्री’ गाडी पुरस्कारका रूपमा प्राप्त गर्नेछन् ।
सोही अवसरमा आर्थिक परिसंवाद कार्यक्रम पनि हुने सोमबार आयोजित पत्रकार सम्मलेनमा बाह्रखरी मिडियाले जनाएको छ । बाह्रखरी मिडियाका अध्यक्ष तथा प्रधानसम्पादक प्रतीक प्रधानले कर्पोरेट गल्फ प्रतियोगितासँगै नेपालको आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यले वार्षिक रूपमा आर्थिक परिसंवाद कार्यक्रम गरिएको बताए । उनले यसपालि आफ्नै खर्चमा अन्तर्राष्ट्रिय स्तरका कर्पोरेट गल्फर सहभागिता रहनुले यसको दायरा अझै फराकिलो हुने अपेक्षा जनाए ।
मुख्य प्रायोजक एनसेल फर बिजनेसका चिफ कमर्सियल अफिसर उमर मोहसिनले खेल र इकोनोमिक सिम्पोजियम एकसाथ लैजानु एनसेलको मुख्य उद्देश्यसँग मेल खाने भएकाले यसलाई निरन्तरता दिएको बताए ।
गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले खेल पयर्टनको विकास गर्न गल्फले महत्वपूर्ण भूमिका खेल्ने भएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले गल्फ खेल र अर्थतन्त्र जोडिएको यस इभेन्टसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै बीवाईडी आफैंमा एउटा इनोभेसन हो । यो पनि त्यस्तै कार्यक्रम रहेको बताइन् ।
नेपाल ड्रिस्टिलरीकी मार्केटिङ प्रमुख सुदीक्षा अधिकारीले गल्फ र खुकुरी रम स्वभावले मेल खाने भएकाले यस इभेन्टसँग सहकार्य गरिएको बताइन् । गोकर्ण गल्फ क्लबका निर्देशक दीपक आचार्यले नेपालमा थुप्रै प्रतियोगिता हुने भए पनि बाह्रखरी गल्फले खेलाडीहरूमा छुट्टै उत्साह थप्ने र प्रतीक्षाको इभेन्ट बन्ने गरेको बताए । गत वर्षको संस्करण पोखरास्थित हिमालयन गल्फ कोर्समा भएको थियो ।
