त्रिशूली अल्ट्रा रेस हुने

चैत्र ३, २०८१

कान्तिपुर संवाददाता

Trishuli Ultra Race

काठमाडौँ — नेपाल एडभेन्चर रनिङ महासंघको आयोजनामा त्रिशूली अल्ट्रा रेस आयोजना हुने भएको छ । प्रदेश खेलकुद विकास परिषद् बागमतीको मुख्य सहयोगमा महासंघले चैत २३ गते नुवाकोटको बेलकोटगढीबाट सुरु हुने अल्ट्रा रेसको आयोजना गर्ने घोषणा गरेको छ । 

नुवाकोटको विदुर नगरपालिकामा आइतबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष एकेन्द्रबहादुर कुँवरले प्रतियोगितामा राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय गरी ३ सय खेलाडीको सहभागिता रहने जनाए । 

महिला र पुरुष गरी दुई विधामा सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख, दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार, चौथों हुनेले २० हजार, पाँचौं हुनेले १० हजार र छैटौंदेखि दसौंसम्म हुनेले जनही ३ हजार रुपैयाँ पाउने छन् ।

नुवकोटको बेलकोटगढीस्थित निरञ्जना भगवती मन्दिर परिसरबाट सुरु हुने दौड पुरानो सिँढीबाटो, मालकोट, शेरा, मुरलीटार, नुवाकोट दरबार, दारीगौंडा, फलाटे, डाँडागाउँ, गेर्खु शान्ति कल्याण स्कुल, चापटार, केराघारी, बेत्रावती, सोलेपुल, तुप्चे, त्रिशूली अस्पताल, पञ्चकन्या मन्दिर सिँढी, चारघरे, रनभुवेश्वरी स्कुल, देवीघाट पुल हुँदै पवित्र तीर्थस्थल, देवीघाट बजारमा पुगेर समाप्त हुनेछ ।

इच्छुक खेलाडीले नेपाल एडभेन्चर रनिङ महासंघ सातदोबाटो, नुवाकोट जिल्ला खेलकुद विकास समिति, बेलकोट युथा क्लब, होटल जनक त्रिपुरेश्वर र अनलाइनमार्फत नाम दर्ता गर्न सक्नेछन् । बेलकोटगढी नगरपालिका, विदुर नगरपालिका, लिखु गाउँपालिका, सूर्यगढी गाउँपालिका, उत्तरगया गाउँपालिका, नुवकोट जिल्ला खेलकुद विकास समिति, रसुवा जिल्ला खेलकुद विकास समितिको सहयोग रहने प्रतियोगिता संयोजक राजन खत्रीले जानकारी दिए ।  

प्रतियोगिता आयोजनाका लागि ३२ लाख ५१ हजार रुपैयाँ खर्च लाग्ने र बागमती प्रदेश तथा निजी क्षेत्रको सहयोगमा लागत खर्च जुटाउने महासंघले जनाएको छ । पत्रकार सम्मेलनमा नुवाकोट जिल्ला विकास समितिका अध्यक्ष विजय गुरुङ, रसुवा जिल्ला विकास समितिका अध्यक्ष विराज लोप्चन, नेपाल एडभेन्चर रनिङ महासंघका सचिव रवीन्द्र थापालगायतको उपस्थिति थियो ।  

कान्तिपुर

Link copied successfully