सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष प्रशिक्षक र युवा खेलाडीको मनोनयन सार्वजनिक 

चैत्र ३, २०८१

अर्जुन शाह

Sudurpaschim Sports Awards: Nominations for coach and young player of the year announced

धनगढी — सुदूरपश्चिम स्पोर्टस अवार्डको छैटौँ श्रृखलाका लागि वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।

छनोट समितिका संयोजक सीताराम ओझाका अनुसार वर्ष युवा खेलाडीको मनोनयनमा क्रिकेटका नरेन साउद, फुटबलका निराजन धामी र कबड्डीका सुशील चुनारा परेका छन् । अवार्ड चैत ७ गते धनगढीमा आयोजना गर्न लागिएको छ ।  

फुटबलका धामी साफ यू–२० च्याम्पीयनसlपमा नेपाल उपविजेता बन्दा नेपालबाट सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनी केपी ओली कपमा उदीयमान खेलाडी बन्न सफल भएका थिए । कबड्डीका चुनारा बंगलादेशमा भएको चौथो बंगबन्धु पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाली टोली उपविजेता बन्दा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् । उनी १७ वर्षको उमेरमै नेपालको सिनियर टोलीमा परेका थिए । क्रिकेटका साउदले यू-१९ एसिया कपमा अफगानस्थानमाथि जित दर्ता गर्दा उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपाल प्रिमियर लिगको डेब्यु खेलमा उनले ५ विकेट लिएका थिए । 

यस्तै, वर्ष प्रशिक्षकको मनोनयनमा कबड्डीका विष्णुदत्त भट्ट, भलिबलका जगदीश भट्ट र कबड्डीकै हरिना थापा परेकी छिन् । कबड्डीका प्रशिक्षक भट्ट बंगलादेशमा भएको चौथो बंगबन्धु पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाली टोलीलाई उपविजेता बनाउने प्रशिक्षक हुन् । भलिबलका भट्ट काभा भलिबल नेसन्स लिगमा नेपाललाई उपविजेता बनाउने प्रशिक्षक हुन् । उनकै प्रशिक्षणमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको थियो । कबड्डीकी थापा नेपाललाई एसियन महिला कबड्डी च्याम्पियनसिपमा पहिलो पटक कास्य पदक जिताउने प्रशिक्षक हुन् ।

आयोजकले यसअघि नै सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक गरिसकेको छ । अब वर्ष खेलाडी पुरुष र महिलाको मनोनयन सार्वजनिक गर्न बाँकी छ ।

आयोजकका अनुसार आठ विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully