दाङ — लमहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत आइतबार लुम्बिनी प्रदेश र बाग्मती प्रदेश भिड्दैछन् ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज आठौँ दिन दुई प्रदेश टिमबीच खेल सुरु भएको छ । लुम्बिनीले टस जितेर ब्याटिङ सुरू गरेको छ ।
दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अंक तालिकाको चौथो स्थानमा रहेको लुम्बिनी र नवौँ स्थानमा रहेको बाग्मती प्रदेश बीच हुने खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
लुम्बिनी प्रदेशको कप्तानी १९ वर्षमुनिको राष्ट्रिय टिमको कप्तान भइसकेका देव खनालले सम्हालेका छन् भने बाग्मती प्रदेशको कप्तानी अनुभवी खेलाडी पृथु बास्कोटाले सम्हालेका छन् ।
लुम्बिनीमा कप्तान खनालसँगै कृष्ण कार्की, सुशान्त थापा, मृनाल गुरुङ, अजय चौहान, आकाश त्रिपाठी, विकेट किपर प्रज्वल थापा, निर्मल गुरुङ, नर सार्की, रमेश कुर्मी, वीर मगरलगायत खेलाडी छन् ।
बाग्मती प्रदेशमा कप्तान बास्कोटासँगै आशुतोष घिरैया, इशान पाण्डे, नन्दन यादव, रिजन ढकाल, रित गौतम, प्रतिश जिसी, सूर्य तामाङ, विकेट किपर विवेक मगर, सोनु देवकोटा, विपिन आचार्यलगायत खेलाडी छन् ।
जारी प्रतियोगिता लुम्बिनी प्रदेश र बाग्मतीले समान ३ खेल खेलिसकेका छन् । जसमा लुम्बिनीले ३ खेलमा दुईमा जित र १ मा हार व्यहोरेको छ । लुम्बिनीले कोशी प्रदेशलाई २६ रन, गण्डकी प्रदेशलाई १४ रनले हराएको छ भने नेपाल पुलिस क्लबसँग ८७ रनले पराजित भएको छ ।
यसैगरी, बाग्मती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले हराउँदा डर्बी एपीएफ क्लबसँग १०० रन र त्रिभुवन आर्मी क्लबसँग १३४ रनले पराजित भएको छ ।
नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगिता हेर्न दर्शकहरुका लागि भिआईपी टिकट शुल्क २ सय रुपैयाँ रहेको र अरु टिकटको हकमा नि:शुल्क प्रवेश गरिएको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष तथा क्यान केन्द्रीय सदस्य प्रदीप मजगैँयाले जानकारी दिए ।
३ विभागीय टिम आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टिमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् ।
दाङसहितमा रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ सुरु भएको प्रतियोगिताका खेलहरु राउण्ड रोबिनका आधारमा भइरहेका छन् । हरेक टिमले एक अर्को टिमसँग खेल्नेछन् । आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिता अन्तरगत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ ।
