चितवन — रौतहट फुटबल क्लबले राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई स्तब्ध पारेको छ । भरतपुरको कृष्णपुर खेल मैदानमा प्रतियोगिताको दोस्रो दिन आइतबार रौतहटले अनिता रानामगरको एक मात्र गोलमा पुलिसलाई १–० ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।
अनिताले खेलको ३१ औं मिनेटमा उक्त गोल गरेकी थिइन् । पुलिसले आक्रामक खेले पनि रौतहटकी गोलरक्षक उषा थापाले हरेक प्रहारलाई विफल बनाइन् । उषा नै प्लेयर अफ द म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरिन् । सोमबार त्रिभुवन आर्मर् ीफुटबल क्लब र बागमती युथ क्लब सर्लाही भिड्ने छन् । चितवन जिल्ला फुटबल संघको आयोजना र भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।
विजेताले ट्रफीसहित ३ लाख रुपैयाँ र उपविजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडीले ४० हजार रुपैयाँ, विधागत उत्कृष्टले २० हजार रुपैयाँ पाउने छन् । शनिबार उद्घाटन खेलमा भरतपुर–२४ ले एन्फा मकवानपुरलाई पराजित गरेको थियो ।
