पोखरामा राष्ट्रिय पुरुष ह्यान्डबल सुरु : दुई खेल जित्दै गण्डकी सेमिफाइनलमा  

चैत्र ३, २०८१

दीपक परियार

National men's handball starts in Pokhara: Gandaki wins two games in the semi-finals

पोखरा — गण्डकी प्रदेश ह्यान्डबल संघको आयोजनामा आइतबारबाट पहिलो पोखरा कप राष्ट्रिय पुरुष ह्यान्डबल प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालामा प्रतियोगिताको पहिलो दिन घरेलु टोली गण्डकीले दुई खेल जित्दै सेमिफाइनल प्रवेश गरेको छ । 

गण्डकीले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई हराउँदै अन्तिम चारको यात्रा सुरु गरेको हो । आइतबार चार खेल सम्पन्न भए । पहिलो खेलमा गण्डकीले सुदूरपश्चिमलाई ३५–१७ गोलले पाखा लगायो । गण्डकीका लागि पवन छन्त्यालले सर्वाधिक ११ गोल गरे । सुदूरपश्चिमका लागि सरोजकुमार सिंहले ६ गोल गरे । दोस्रो खेलमा एपीएफले लुम्बिनीमाथि ३०–९ को फराकिलो जित निकाल्यो ।

एपीएफका लागि नितेश धिमालले ५ गोल गरे । लुम्बिनीका लागि मनोज थारुले ५ गोल गरे । तेस्रो खेलमा गण्डकीले कर्णालीलाई ४२–१६ को अन्तरले हरायो । गण्डकीका लागि प्रलेश गुरुङले १२ गोल गरे । यो जितसँगै गण्डकी एक खेल अघि नै सेमिफाइनलमा प्रवेश गरेको हो । चौथो खेलमा कोशीले सुदूरपश्चिमलाई २२–१९ ले हरायो ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले देशलाई चिनाउने काम खेलाडीले मात्रै गर्दै आइरहेको र गण्डकी प्रदेशमा खेलकुदमा विषयमा केही नवीनतम योजना अघि सारिएको सुनाए । दक्षिण एसियाली ह्यान्डबल संघका उपाध्यक्ष तेज गुरुङले ह्यान्डबलका गतिविधि क्रमिक रूपमा अघि बढ्ने बताए । 

प्रतियोगितामा आयोजक गण्डकीसहित कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबको सहभागिता रहेको छ । लिग कम नकआउटका आधारमा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख, उपविजेताले ५० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँ प्राप्त गर्ने छन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही ५–५ हजार रुपैयाँ प्रदान गरिने ह्यान्डबल संघ गण्डकीका उपाध्यक्ष गिरमान गुरूङले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न १४ लाख रुपैयाँ खर्च हुने संघको अनुमान छ । प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा कास्की जिल्ला ह्यान्डबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता भएको हो । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully