झापा — इण्डो-नेपाल टि-ट्वान्टी क्रिकेट प्रतियोगितामा थण्डर-११ ले आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई ७६ रनले पराजित गरी फाइनल प्रवेश गरेको छ ।
मेचीनगर-४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको थण्डरले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रनको विशाल योगफल खडा गर्यो । जसमा थण्डरका लागि रोहित राजवंशीले सर्वाधिक ७३ रनको योगदान दिए। विशेष बुढाथोकीले २८, चन्द्र भट्टराईले २४ र विराट डाँगीले २० रन योगदान दिए।
बलिङतर्फ बाहुनडाँगीका आयुश दाहाल र सन्तोष प्रधानले ३-३ विकेट लिए। नाजिर हुसेनले २ तथा रमन कार्की र निरोथ रोयले १-१ विकेट हात पारे।
२ सय ६ रनको लक्ष्य पछ्याएको बाहुनडाँगीले २० ओभरमा सबै विकेट गुमाउँदै १ सय २९ रन मात्र बनाउन सक्यो। बाहुनडाँगीका राजेश थापाले सर्वाधिक ४६ रन बनाए, गणेश पौडेलले १७ र आयुश दाहालले १४ रन जोडे।
बलिङतर्फ थण्डरका विराट डाँगी, शिव राजवंशी र एलिट राईले २-२ विकेट लिए।
प्रतियोगिताको उत्कृष्ट खेलाडी थण्डरका रोहित राजवंशी घोषित भए । उनले नगद १ हजार र मायाको चिनो प्राप्त गरे।
फागुन २१ गतेदेखि सुरु भएको यस प्रतियोगिताको फाइनल चैत ४ गते हुनेछ । उपाधि होडका लागि दुई पाहुना टोलीबीच प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष जीवन मोतेले जनाए।
विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
