झापा — आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरविरुद्ध १–० को कठिन जित निकाल्दै चर्च ब्वाइज युनाइटेड पाँचौं मेचीनगर गोल्डकप च्याम्पियन बनेको छ ।
उपाधिसँगै चर्च व्वाइजले १० लाख र उपविजेता काँकडभिट्टाले ५ लाख रुपैयाँ पुरस्कार पाए । खेलको ११ औं मिनेटमा चर्च व्वाइजका समीर तामाङले निर्णायक गोल गरे । आयोजकका डिफेन्डर अभिषेक गुरुङले पेनाल्टी एरियामा क्लियर गर्न नसकेको बललाई समीरले नियन्त्रणमा लिँदै गोल गरे । उनको त्यही गोल उपाधि दिलाउन निर्णायक बन्यो ।
खेलको प्लेयर अफ द म्याच चर्च व्वाइजका समीर तामाङ भए । उनले ११ हजार पाए । २०७१ बाट सुरु प्रतियोगिताको उपाधि यसअघि बिर्तामोड युनाइटेड, झापा ११, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जितेको थियो ।
विजेतालाई पुरस्कृत गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले समग्र खेलको विकासका लागि खेलमैदान स्तरोन्नति, खेलाडी उत्पादनलगायतका विषयमा नीतिगत व्यवस्था गरेर सरकार अघि बढ्नुपर्ने बताए । ‘केही खेलले अन्तराष्ट्रिय स्तरमा चर्चा बटुल्न सके पनि धेरै खेल पूर्ण रूपमा अघि बढ्न सकेका छैनन् । कोशी प्रदेश सरकार यस्ता विषयमा गम्भीरतापूर्वक अघि बढेको छ,’ उनले भने, ‘कोशी खेलकुद ग्राम नै बनाएर समग्र खेल क्षेत्रलाई अघि बढाउने योजना छ ।’ फुटबलको माध्यमबाट मेचीनगरलाई चिनाउने विभिन्न खेलका खेलाडीलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा सन्देश श्रेष्ठ, नरोत्तम गौतम, संगीता राउत, लुना प्रधान, लिला थापा थिए् । उनीहरूलाई नगदसहित सम्मान गरिएको हो ।
