लुम्बिनीका स्पिनर चम्किँदा बागमती ६७ रनमा अलआउट

चैत्र ३, २०८१

दुर्गालाल केसी

Bagmati all out for 67 runs as Lumbini's spinner shines

दाङ — लुम्बिनीका स्पिनर चम्किएसँगै लो  स्कोरिङ लक्ष्य बचाउँदै लुम्बिनी प्रदेशले बागमती प्रदेशविरुद्ध ४८ रनको सानदार जित हासिल गरेको छ ।

लमहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आइतबार लुम्बिनीले दिएको ११६ रनको सामान्य लक्ष्य पछ्याएको बागमती २२ दशमलव ५ ओभरमा अलआउट हुँदै ६७ रनमा समेटियो ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रतियोगिताको आठौं दिनको  २० औं खेलमा जवाफी ब्याटिङ गरेको बागमतीले पहिलो पावर प्लेमा ४ विकेट गुमाएर ३६ रन बनाएको थियो। दोस्रो पावर प्लेमा आइपुग्दा बागमती अलआउट भयो।

बागमतीलाई लो स्कोरमा पनि रोक्न लुम्बिनीका स्पिनरले उत्कृष्ट बलिङ गर्दै ६ ब्याटरलाई आउट गरे । एक ब्याटर एलबीडब्लूको सिकार हुँदा २ ब्याटर क्याचआउट हुँदा १ जना स्टम्पिङ आउट भए  ।

 बागमतीका लागि कप्तान पृथु बास्कोटाले २६ बलमा २ चौकासहित १५ रन बनाउँदा विप्रसन केसीको बलमा बोल्ड भए । पहिलो विकेटका रूपमा रित गौतमलाई दोस्रो ओभरको अन्तिम बलमा स्पिनर निर्मल गुरुङले शून्य रनमा आउट गरेपछि सुरु भएको विकेटपतनको सिलसिला स्पिनरको धारिलो बलिङले कायम राख्यो।

ओपनर आशुतोष घिरैया १५ बलमा २ चौकाको मद्दतमा ११ रन बनाएर रमेश कुर्मीको बलमा  आउट भए । शुभ कंशाकार निर्मल गुरुङको बलमा २ रनमा बोल्ड भए । ईशान पाण्डे शून्य रनमा रमेश कुर्मीको बलमा स्टम्पिङ आउट  भए ।

सूर्य तामाङ १० बलमा ६ रन बनाएर अजय चौहानको बलमा बोल्ड हुँदा विवेक मगरलाई विप्रसन केसीले ३ रनमा बोल्ड गरे । सुमन सुनार ११ रन बनाएर अजय चौहानको बलमा नरबहादुर सार्कीको हातबाट मिडअनका उत्कृष्ट क्याचआउट भए ।

Bagmati all out for 67 runs as Lumbini's spinner shinesगौतम केसी ८ रनमा अविजित रहँदा सोनु देवकोटालाई विप्रसन केसीले शून्य रनमा आउट गर्दा र रिजन ढकाललाई अजय चौहानले अन्तिम विकेटका रुपमा शुन्य रनमा पेभेलियन फर्काएपछि २२ दशमलव ५ ओभरमा लुम्बिनीले खेल आफ्नो पक्षमा पार्‍यो ।

लुम्बिनीका अजय चौहानले ५ दशमलव ५ ओभरमा २ मेडनसहित १४ रन दिएर ३ विकेट लिए । विप्रसन केसीले पनि ६ ओभर बलिङ गर्दै १३ रन खर्चेर ३ विकेट लिए ।

निर्मल गुरुङले ५ ओभरमा २ मेडनसहित १९ रन खर्चेर २ विकेट लिँदा रमेश कुर्मीले ५ ओभरमा ३ मेडनसहित १५ रन खर्चेर २ विकेट लिए । प्रतियोगितामा कसिलो बलिङ गर्दै जीतको आधार तय गरेका लुम्बिनीका विप्रसन केसी प्लेयर अफ द म्याच भए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ११५ रन बनाएको थियो । लुम्बिनी प्रदेश ३२ दशमलव ४ ओभरमा अलआउट हुँदै ११५ रन बनायो । लुम्बिनीलाई सस्तैमा समेट्न बागमतीका सबै बलरले उत्कृष्ट बलिङ गरे । पाँच बलर प्रयोग गरेको बागमतीका सबै बलरले विकेट लिए । छैटौं ओभरबाट सुरु भएको विकेट पतन ३३ औं ओभरमा पुगेर टुंगियो ।

आकाश त्रिपाठीले ३३ रन जोड्नुबाहेक अरु खेलाडी जम्न सकेनन्  । छैटौं ओभरको पाँचौं बलमा रिजन ढकालले ओपनर मृनाल गुरुङलाई व्यक्तिगत ५ रनमा पेभेलियन फर्काए । स्लो रन सुरुवात गरेको लुम्बिनी प्रदेशका खेलाडीले पहिलो पावर प्लेमा २ विकेटको क्षतिमा ३५ रन जोडेका थिए । अर्का ओपनर मनिष थापा ३५ बलको सामना गर्दै १ चौकाको मद्दतमा १५ रन बनाउँदै एशान पाण्डेको बलमा ढकालको हातबाट क्याच आउट भए  ।

लुम्बिनीका कप्तान देव खनालले २७ बल खेल्दै १ चौकासहित १५ रन बनाएर सूर्य तामाङको बलमा तेस्रो विकेटका रूपमा आउट भए  । प्रज्वल थापा ६ रन जोडेर इशान पाण्डेको बलमा बोल्डआउट भए ।

विप्रसन केसी २० बल खेलेर जम्मा ९ रन बनाउँदै  गौतम केसीको बलिङमा विकेटकिपर विकेक मगरबाट क्याच आउट भए । कृष्ण कार्की १५ बल खेल्दै १ छक्कासहित ७ रन बनाएर गौतम केसीको बलमा लङअनमा सोनु देवकोटाको उत्कृष्ट क्याचमा पेभेलियन फर्किए । निर्मल गुरुङ पाँच बल डट खेलेर शुन्य रनमा आउट हुँदा नरबहादुर सार्की सूर्य तामाङको बलमा रित गौतमको हातबाट क्याच आउट भए  । रमेश कुर्मी ८ बल खेलेर गौतम केसीको बलमा बोल्ड भए   । लुम्बिनीलाई लो स्कोरमा समेट्न गौतम केसीले पाँच दशमलव ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए ।

सूर्य तामाङले ८ ओभरमा १ मेडनसहित जम्मा १४ रन दिएर २ विकेट लिँदा एशान पाण्डेले पनि ७ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । रिजन ढकालले २४ रन दिएर १ विकेट लिँदा सोनु देवकोटाले ३७ रन खर्चेर १ विकेट लिए ।

जारी प्रतियोगितामा लुम्बिनी ४ खेलमा ३ मा जित निकाल्दै ६ अंकका साथ चौथो स्थानबाट तेस्रो स्थानमा उक्लिएको छ । बागमती प्रदेशले चार खेलमा १ मा जित निकाल्नुबाहेक अरु खेलमा सुखद नतिजा निकाल्न सकेको छैन । प्रतियोगिताअन्तर्गत सोमबार लमहीमा लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच खेल हुनेछ ।

नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टिम आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टिमले खेलिरहेका छन् ।

फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता जारी छ । दाङसहितमा रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ सुरु भएको प्रतियोगिताका खेलहरू राउन्ड रोबिनका आधारमा भइरहेका छन् । हरेक टिमले एक अर्को टिमसँग खेल्नेछन् । आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिताअन्तर्गत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully